१० मंसिर २०८३, बिहिबार

घरेलु मैदानमै कर्णालीको कमजोर प्रदर्शन, ४ विधामा निराशाजनक नतिजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हेमन्त केसी

सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवाती दुई दिनमै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेशले निराशाजनक प्रदर्शन गरेको छ । पाँच विधाका खेल सञ्चालन भइरहँदा कर्णाली सहभागी चार विधामध्ये कुनैमा पनि अपेक्षित नतिजा निकाल्न सकेको छैन । टेनिसमा भने कर्णाली सहभागी छैन ।

पहिलो र दोस्रो दिन कर्णालीले पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटमा पराजय बेहोरेको छ । पौडीमा पनि कर्णालीले पदक जित्न सकेको छैन। घरेलु मैदान र दर्शकको साथ हुँदाहुँदै पनि प्रतिस्पर्धी टोलीका चुनौतीको सामना गर्न कर्णाली कठिनाइमा देखिएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । सुरुवाती चरणमा विभागीय टोलीसँगै अन्य प्रदेशले पनि बलियो उपस्थिति देखाएका छन् ।

फुटबलमा पुलिससँग पराजित हुँदै कर्णालीको सुरुवात

पहिलो दिन कर्णालीले पुरुष फुटबलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरेको थियो ।

कर्णाली प्रादेशिक रंगशालामा भएको उद्घाटन खेलमा पुलिसले घरेलु टोलीलाई २–० गोलले पराजित ग¥यो ।

सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै दुई गोल गर्‍यो । धीरेन्द्र शाहले ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने सुजन मगरले ४६ औं मिनेटमा अर्को गोल थपे ।

दोस्रो हाफमा कर्णालीले खेलमा फर्कन प्रयास गरे पनि गोल गर्न सकेन । खेलमा पुलिसका एक र कर्णालीका दुई खेलाडीले पहेँलो कार्ड पाए ।

महिला क्रिकेटमा कोशीसँग ४९ रनको हार

महिला क्रिकेटमा पनि कर्णालीले घरेलु मैदानको फाइदा उठाउन सकेन । बुधबार भएको खेलमा कोशी प्रदेशले कर्णालीलाई ४९ रनले पराजित गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको कोशीले कप्तान रुविना क्षेत्रीको ६२ रनको योगदानमा निर्धारित ओभरमा १२५ रन बनायो । रुविनाले ५७ बलमा एक छक्का र नौ चौकासहित उक्त रन जोडिन् । काजोल श्रेष्ठले १४, खुसी राजवंशीले १० र लकिता राजवंशीले नौ रन बनाइन् । विमला महला सात र फूलकुमारी राजवंशी छ रनमा अविजित रहे ।

कर्णालीका रमा बुढाथोकीले दुई र रविना बुढामगरले एक विकेट लिइन् ।

१२६ रनको लक्ष्य पछ्याएको कर्णाली ७६ रनमै अलआउट भयो । शिखा दवाडीले सर्वाधिक २० रन बनाइन् भने सोविका शाहीले १२ र रमा बुढाथोकीले १० रन जोडिन् ।

कर्णालीको ब्याटिङ ध्वस्त पार्दै लकिता राजवंशीले चार ओभरमा एक मेडनसहित ५ रन खर्चेर तीन विकेट लिइन् । निशा शाह र एलिशा खादियाले दुई–दुई तथा रुविना क्षेत्री र निरु राजवंशीले एक–एक विकेट लिए । उत्कृष्ट बलिङ गरेकी लकिता प्लेयर अफ द म्याच घोषित भइन् ।

बास्केटबलमा पनि पुलिससँग पराजय

महिला बास्केटबलको फुल कोर्ट (५×५) प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले कर्णालीलाई ५२–१९ अंकले पराजित गर्‍यो । पुलिसकी दिभा महर्जनले २० अंक योगदान गरिन् ।

पहिलो क्वार्टरमा पुलिस ०–८ ले पछि परेको थियो । तर दोस्रो क्वार्टरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ को स्कोर गर्दै पुलिसले खेल आफ्नो पक्षमा पार्‍यो ।

यसैबीच, सुदूरपश्चिम प्रदेश महिला बास्केटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह ’बी’को विजेता बनेको सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले हरायो । सन्जु घिसिङले सुदूरपश्चिमका लागि सर्वाधिक १४ अंक जोडिन् ।

थ्री अन थ्री बास्केटबलमा त्रिभुवन आर्मी र बागमती प्रदेशले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । आर्मीले कोशीलाई १३–८ र बागमतीले मधेशलाई ८–३ ले पराजित गरेका हुन् ।

फुटबलमा आर्मीको जित, कोशी र बागमती बराबरीमा

पुरुष फुटबलको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गर्‍यो ।

बुधबार बिहान भएको खेलमा भरत खवासले २३ औं मिनेटमा पहिलो गोल गरे । लाकेन लिम्बुले ५२ औं मिनेटमा दोस्रो गोल थपे । ६४ औं मिनेटमा लुम्बिनीका विकास राईले आफ्नै पोस्टमा गोल गरेपछि आर्मीको ३–० को जित सुनिश्चित भयो ।

दोस्रो खेलमा कोशी र बागमती प्रदेशले २–२ को बराबरी खेल्दै अंक बाँडे । बागमतीका एलिक श्रेष्ठले ३६ औं र ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई दुई गोलको अग्रता दिलाएका थिए । तर ७५ औं मिनेटमा कोशीका मिलन राईले पेनाल्टीमार्फत गोल गरे र तीन मिनेटपछि पदम भट्टराईले अर्को गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

तेस्रो दिन बिहीबार पुरुष फुटबलमा कर्णालीले गण्डकी प्रदेशसँग बिहान ९ बजे प्रतिस्पर्धा गर्नेछ । दिउँसो २ः३० बजे एपीएफ र मधेश प्रदेशबीच खेल हुनेछ ।

पौडीमा बागमतीको वर्चस्व

बाँकेको नेपालगञ्जमा सम्पन्न पौडी प्रतिस्पर्धामा बागमती प्रदेशले सर्वाधिक १९ पदक जित्यो । मंगलबार र बुधबार भएका प्रतिस्पर्धामा बागमतीले नौ स्वर्ण, चार रजत र छ कास्य जितेको हो ।

नेपाल पुलिस क्लब तीन स्वर्ण, सात रजत र आठ कास्यसहित १८ पदक जितेर दोस्रो स्थानमा छ । त्यति नै पदक जितेको त्रिभुवन आर्मी क्लब दुई स्वर्ण, आठ रजत र आठ कास्यसहित तेस्रो स्थानमा रहेको छ ।

एनआरएनएले छ स्वर्ण, एक रजत र दुई कास्यसहित नौ पदक जितेर चौथो स्थान हासिल गरेको छ । सुदूरपश्चिम र कोशी प्रदेशले क्रमशः एक स्वर्ण र दुई रजत तथा एक स्वर्ण पदक जितेका छन् ।

सुरुवाती दुई दिनमा फुटबल, क्रिकेट र बास्केटबलमा हार बेहोर्नुका साथै पौडीमा पदकविहीन बनेपछि सहआयोजक प्रदेशको प्रदर्शनमाथि प्रश्न उठेको छ । बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्दै पदक तालिकामा उपस्थिति जनाउनु कर्णालीका लागि चुनौती बनेको छ ।