–सञ्जय मिश्रा
रौतहट । बिहारको मोकामाका चर्चित विधायक अनन्त कुमार सिंहकी छोरी शिवांगी सिंहको विवाह सम्पन्न भएको छ ।
केही दिनदेखि चर्चामा रहेको यो विवाह समारोहमा अपेक्षाभन्दा बढी मानिसको भीड जुटेपछि बिहारको पटना जिल्लास्थित नदवाँ गाउँ र आसपासका क्षेत्र अस्तव्यस्त बनेका छन् ।
विवाहमा लाखौं मानिस सहभागी भएको अनुमान गरिएको छ । भीडका कारण बाढीदेखि अनन्त सिंहको पैतृक गाउँ नदवाँ जाने सडकमा बुधबार बिहानैदेखि सवारीसाधनको लाम लागेको थियो । सडक जामले सर्वसाधारणदेखि विशिष्ट अतिथिसम्मको आवागमन प्रभावित भयो ।
शिवांगी सिंहको विवाहमा सहभागी हुन बिहारका विभिन्न जिल्लाका साथै अन्य राज्यबाट समेत मानिसहरू पुगेका थिए । केही रिपोर्टअनुसार विवाहमा करिब ५ लाख पाहुना आउने अनुमान गरिएको थियो । तर वास्तविक भीड अनुमानभन्दा धेरै बढी भएको बताइएको छ ।
विवाह समारोहमा २५ लाख मिठाइको व्यवस्था गरिएको चर्चा पनि व्यापक बनेको छ । भोजमा सहभागी हुने मानिसहरूको संख्या यति धेरै थियो कि भीडको वास्तविक आँकलन गर्न समेत कठिन भएको बताइएको छ । केही पाहुना हेलिकोप्टरमार्फत समेत विवाह समारोहमा पुगेका थिए ।
विधानसभा अध्यक्ष समेत जाममा फसे
विवाहमा सहभागी हुन आउँदै गरेका बिहार विधानसभा अध्यक्ष प्रेमकुमार समेत भीषण ट्राफिक जाममा फसेका थिए । उनको सवारीसाधनको काफिला घण्टौसम्म जाममा परेको बताइएको छ ।
बाढीदेखि नदवाँसम्मको मुख्य सडकमा सवारीसाधनको चाप अत्यधिक भएपछि यातायात व्यवस्था प्रभावित भएको थियो । विवाहमा सहभागी हुन आएका विशिष्ट अतिथिहरूलाई समेत आवागमनमा कठिनाइ भएको थियो ।
दुलहा ऋषिकेश र दुलही शिवांगीले लिए आशीर्वाद
विवाहको जयमालाको क्रममा दुलहा ऋषिकेश कुमार र दुलही शिवांगी सिंहले हात जोडेर उपस्थित मानिसहरूबाट आशीर्वाद लिएका थिए ।
ऋषिकेशले हल्का गुलाबी रंगको शेरवानी, सेतो चुडीदार पाइजामा र गुलाबी पगडी लगाएका थिए । उनको गलामा मोतीको हार थियो ।
यसअघि साँझ ढल्दै गर्दा बिहटाबाट नदवाँ गाउँका लागि जन्ती प्रस्थान गरेको थियो । जन्ती बिदाइका क्रममा ऋषिकेशकी आमा तथा अनन्त सिंहकी सम्धिनी आशा देवीले परिछन अर्थात् नजर उतार्ने परम्परागत विधि पूरा गरेकी थिइन् । आशा देवीसँगै दुलहाकी चाची पनि जन्तीलाई केही दूरीसम्म बिदाइ गर्न पुगेकी थिइन् ।
बिहारकै चर्चित विवाहमध्ये एक
कुनै विशेष प्रचारप्रसार वा सार्वजनिक सम्बन्ध अभियान नगरे पनि विवाहमा देखिएको भीडले अनन्त कुमार सिंहको लोकप्रियता बिहारका विभिन्न क्षेत्रमा रहेको चर्चा गरिएको छ ।
नदवाँ गाउँ र आसपासका स्थानीयवासीको उत्साह पनि विवाह समारोहमा देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा ठूलो संख्यामा उपस्थित मानिसहरूले एकै स्वरमा ऋषिकेश र शिवांगीलाई विवाहको शुभकामना तथा आशीर्वाद दिएको दृश्य देखिएको छ ।
विशाल भोज, लाखौंको भीड, विशिष्ट अतिथिको सहभागिता र सडक जामका कारण अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह बिहारकै चर्चित विवाह समारोहहरूमध्ये एक बनेको छ ।











प्रतिक्रिया