काठमाडौं, ८ साउन । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष एवम् ईमेज च्यानल टेलिभिजन बाजुरा सम्बाददाता छक्कबहादुर मल्लमाथि राजनीतिक प्रतिशोध साँधी दायर गरिएको मुद्दामा प्रहरी प्रसासनले विषयको गहिराईमा नपुगी नियन्त्रणमा लिएको घटनाले अत्यन्तै रुष्ट भएको नेपाल प्रेस युनियनले जनाएको छ ।
‘असारको अन्तिम साताको विहिवार दिउँसो बुढीनन्दा नगरपालिकाको पोरखेको ओरालोमा आफूलाई एमालेका कार्यकर्ता बताउने केही व्यक्तिको सामुहिक आक्रमणबाट घाइते भएका मल्लको उचित उपचार समेत हुन नपाउँदै उनलाई नै नियन्त्रणमा लिने घटनाको युनियन कडा शब्दमा विरोध जनाउँछ’, युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मल्ल लगायत बुढीनन्दा नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रबहादुर शाही, सोही नगरपालिकाका कर्मचारी पदमबहादुर विष्ट, रुद्र मल्ल, मनलाल बडुवालमाथि आक्रमण गर्नेलाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै आक्रमणकारीकै योजनामा बनाइएको फर्जी घटनाको उजुरीका आधारमा मल्ललाई नै थप पीडा पुर्याउने कार्य भएको सिवाकोटीले आरोप लगाएका छन् ।
करिव ३ साता अगाडि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी मार्तडी फर्कने क्रममा पत्रकार देबेन्द्र नाथमाथि भएको आक्रमण र सो घटनाका दोषीलाई कारवाही नहुँदै पत्रकार मल्लमाथि आक्रमण गरी ज्यान लिने प्रयास भएकोमा गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको छ ।












प्रतिक्रिया