१० मंसिर २०८३, बिहिबार

को हुन् कांग्रेसका ‘अपराधी’ ? बैठकभित्रै उठ्यो कारबाहीको माग

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनमा नेतृत्वका कारण ठूलो पराजय भोग्नु परेको भन्दै आलोचना भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले नेतृत्वको अकर्मण्यताका कारण थुप्रै स्थानमा जित्ने अवस्था हुँदाहुँदै पनि कांग्रेस उम्मेदवारहरू पराजित हुनु परेको बताएको नेताहरूले बताएका छन् ।

समयमा टिकट वितरण हुन नसक्नु, पार्टीभित्र नेताहरूको अन्तरघात, गुटको राजनीतिलगायतले पनि पराजयमा ठूलो भूमिका खेलेको धारणा अधिकांश नेताहरूले बैठकमा राखेको केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई संस्थागत रुपमा सभापति शेरबहादुर देउवाले चलाउन नसकेको आरोप लगाउनुभयो । ‘पार्टीलाई विधान र विधिअनुसार चलाउन सकिएको छैन’, पौडेलले भन्नुभयो, ‘अव संस्थागत निर्णय गरेर चल्नुपर्छ । सबैलाई मिलाउनु पर्छ ।’

केन्द्रीय सदस्य महेश आचार्यले पार्टीले समयमा टिकट वितरण गर्न नसकेका कारण स्थानीय तहको निर्वाचनमा पराजय भोग्नु परेको बताउनुभयो ।

केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीले टिकट दिएका उम्मेदवार हराउन कांग्रेसका नेताहरू लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले टिकट दिएका उम्मेदवार हराउन भूमिका खेल्नेहरू अन्तरघाती मात्रै होइनन् । उनीहरू अपराधी हुन् । उनीहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’

केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जिल्ला र क्षेत्रमा निर्वाचित सांसद र केन्द्रीय सदस्यहरूसँग समन्वयन नै नगरेर उम्मेदवारलाई टिकट दिएको भन्दै असन्तुष्टि जनाउनु भयो । ‘दाङको क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिले समेत सांसद र केन्द्रीय सदस्यसँग समन्वय गर्ने आवश्यक्ता ठानेनन्’, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा कांग्रेसका उम्मेदवारहरूले कसरी निर्वाचन जित्न सक्छन् ? पार्टीमा समन्वयन नगर्ने र अन्तरघात गर्नेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ ।’

चौधरीले भन्नुभयो, ‘जनताले जे जति मत दिएका छन् त्यो पनि धेरै राम्रो हो । यदि समयमा टिकट पाएर प्रचार गर्न पाएको भए कांग्रेस पहिलो पार्टी बन्नबाट कसैले रोक्ने थिएन ।’

बैठकमा बलबहादुर के.सी., महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वता डी.सी. चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसाईले आ–आफ्नो धारणा राख्नु भएको थियो ।