काठमाडौँ, १० कात्तिक । सत्तासाझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधानका विवादित विषयमा समान धारणा बनाएर अघि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दुवै दलका शीर्ष नेताको बैठकले सहमतिका लागि हालसम्म भएका वार्ता र छलफलको समीक्षा गर्दै समान धारणाका साथ छलफललाई निर्णायक बनाउने सहमति भएको हो । संविधानसभाले यही कात्तिक १५ गतेसम्म निर्णायक सहमति गर्न दिएको अवधिलाई ध्यानमा राख्दै एमाओवादीसँग थप घनीभूत छलफल गर्ने र सहमति नभए अन्य विकल्पमा जाने सहमति भएको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीमबहादुर रावलले राससलाई जानकारी दिनुभयो ।
“दुई दलका आधारभूत मान्यता समान रहेकाले संविधानका विवादित विषयमा दुई दलबीच समान धारणा बनाएर अघि बढ्ने र एमाओवादीसँग निर्णयक छलफल गरी चाँडो निष्कर्षमा पुग्ने सहमति भएको छ,” उहाँले भन्नुभयो ।
बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय डा रामशरण महत र नरहरि आचार्य तथा एमालेतर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र मुख्य सचेतक अग्नि खरेल हुनुहुन्थ्यो ।
















प्रतिक्रिया