काठमाडौं, १० कात्तिक । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले अझै केही दिन दलहरुबीच अनौपचारिक छलफलको आवश्यकता रहेको बताउनुभएको छ ।
अहिले वातावरण केही खुकुलिएको भए पनि अन्तर्यका गाँठाहरु नखुलेको उहाँले बताउनुभयो । ‘‘औपचारिक बैठकमा आफ्ना धारणा त राखिन्छन् तर पार्टीभित्र अदृष्य र नभनिएका कुराहरु पनि थुप्रै हुन्छन्, पार्टीका नेताहरुका पनि छुट्टाछुट्टै हुन सक्छन्,’ उहाँले भन्नुभयो, ‘ती कुराहरु पनि बुझेर सम्बोधन नगरेसम्म गाँठो खुल्दैन ।’
अझै पनि आशा मारिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सभापति भट्टराईले भन्नुभयो – ‘तर मैले देखेको चाहीँ विभिन्न पार्टी र पार्टीका पनि विभिन्न नेताहरुका सरोकार, चाहना, इच्छा, आकांक्षाहरु छन् ।
तिनलाई पनि सम्बोधन गर्ने ढंगले नगएसम्म गाँठो नफुक्ने हो कि भन्ने अनुभुति चाहीँ हुन्छ ।’ उहाँले यस्ता अन्तरकुन्तर खोतल्न अझै १–२ दिन प्रयत्न गर्ने पनि बताउनुभयो ।
१२ गतेसम्म अनौपचारिक विषयमा बढि जोड दिएर १३ र १४ गते तीन दलको औपचारिक बैठक बसेर १५ गतेसम्म टुंगो लगाउने प्रयत्नमा आफू भएको पनि उहाँको भनाई थियो ।
सहमति निर्माण हुन अझै केही समय लाग्नेतर्फ संकेत गर्दै सभापति भट्टराईले भन्नुभयो – ‘बाहिरबाट हेर्दा त एउटै बैठकबाटै सहमति भएर आइदिए हुन्थ्यो जस्तो लाग्छ तर ठूला युद्धपछि हुने सम्झौतामा धेरै गोप्य, निजी, अनौपचारिक छलफलबाट मोटामोटी निष्कर्षमा पुर्याएपछि बल्ल औपचारिक बैठकले टुंग्याउने हुन्छ ।
हामी पनि संविधानको मूल विषय टुंग्याउन बल गरिराखेका छौं । मैले पनि त्यही आधारमा औपचारिक भन्दा पनि अनौपचारिक बैठकबाट र सामूहिक भन्दा पनि व्यक्तिगत, निजी छलफलबाट, प्रत्येक पार्टीका निर्णायक व्यक्तिहरुसँग अलग अलग बसेर टुंगो लगाउन प्रयत्न गरिराखेको छु ।’
















प्रतिक्रिया