परासी, १० कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नुवाकोट, गोरखा र ओखलढुंगामा गम्भीर लापरबाहीका कारण गाडी दुर्घटना भएको देखिएको उल्लेख गर्दै उक्त बाटामा पर्ने सुरक्षा निकायका प्रमुखसहित सम्बन्धित जिम्मेवार पदाधिकारीलाई तत्काल जिम्मेवारीबाट हटाई कारबाही गर्ने निर्णय गरेको २४ घण्टा पनि वित्न नपाउँदै अर्को दुर्घटना भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नलपरासीको गैँडाकोट–५ काँग्रेस चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ८३१६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका रुपन्देही पडसरी बस्ने २१ वर्षीय विशाल थापाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ ।
आइतबार मुख्यसचिव लीलामणि पौडेलको कार्यकक्षमा प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी, गृह सचिव सूर्य सिलवाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला तथा यातायात र सुरक्षासँग सम्बन्धित अधिकारीसहितको बैठकले गम्भीर लापर्बाहीका कारण भएको दुर्घटनाका दोषी सबैलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
दसैं र तिहारका बेला यसपटक सवारी दुर्घटनामा परी कम्तिमा ७० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । ठूला दुर्घटनामा मात्रै ६० जनाको मृत्यु भएको छ ।
दसैंदेखि तिहारसम्म तीन साताको बीचमा चालकको लापरवाही र सवारी साधनले धान्नै नसक्ने यात्रुको लोडका कारण पाँचवटा ठूला दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जसमा कम्तिमा ६ देखि बढीमा ३५ यात्रुले एउटै दुर्घटनामा ज्यान गुमाएका छन् ।















प्रतिक्रिया