१० मंसिर २०८३, बिहिबार

आयल निगमको साढे ३० करोड रोहिणी खोलामा, पैसा कर्मचारी र नेताको झोलामा

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २ साउन । मुलुकका ७ वटै प्रदेशमा तेल भण्डारण गर्ने ध्ययले नेपाल आयल निगमले बोलपत्र आहवन गर्यो । त्यसैअनुसार २०७३ मंसिर २९ गते ५ नम्बर प्रदेशकोलागी रुपन्देहीमा जग्गा चाहिएको भन्दै बोलपत्र जारी भयो । बोलपत्रमा जग्गाको विवरण क्षेत्रको रुपमा रुपन्देही जिल्लाको नेपाल भारत सीमा बेलहिया भन्सारदेखी ५ किलोमिटर पछि भैरहवा परासी सडकखण्डको १६ किलोमिटरभित्रको समथर जग्गा उल्लेख गरिएको थियो । आयल निगमले बोलपत्रमै तोकेअनुसार करिब २० विगाह क्षेत्रफलको जग्गाकोलागी तोकिएको एक महिना अवधीमा २ वटा बोलपत्र परेका थिए ।

स्रोतका अनुसार लक्ष्मण पन्थिको नामबाट धकधई पुर्वको एउटा जग्गा थियो । जसको दायांबाया २ वटा इट्टा भट्टा छन् । अर्कोचाहि हरिप्रसाद पोखरेलको नामबाट रोहिणीको बगर थियो । शुरुमा धकधइ पुर्वको जग्गा स्वीकृत भएको थियो । पछि पुनः एक पटक स्वीकृत भइसकेको जग्गा रद्ध गरी रोहिणी बगरको जग्गा स्वीकृत गरियो । जबकी रोहिणी बगरको जग्गाको २० विगाहको नक्सा पनि थिएन । बगरको जग्गा सस्तो पाएको हुदां जग्गा दलालहरुले त्यसो गरेको बुझिन्छ ।

यसरी भयो जग्गाको खरिद

आयल निगमले कागजी हिसाबले बोलपत्र आह्वान गरेको भएता पनि सिधैं दलाल मार्फत निजी घर सम्पति किनेजस्तैगरी भैरहवामा जग्गा किनेको देखिएको छ । तत्कालिन समयका आपुर्तिमन्त्री दिपक बोहरा विभागी मन्त्रि भएकाले उनकै निकटस्थ व्यक्तिहरुले भैरहवामा जग्गा खोज्न दौंडधुप गरेका थिए । पछि जग्गा व्यापारी सुरेश घिमिरेले आयल निगमको मुख्य एजेन्ट भएर काम गरे । अधिकारीले आफु नदेखी कोमुद ढुंगाना मार्फत भैरहवाको जग्गा खरिद भएको हो । ढुंगानाले रामग्राम ८ नवलपरासीका हर्षलाल भरलाई जग्गा खोज्ने जिम्मा दिए ।

प्रतिकठ्ठा ५० हजार कमिशन पाउने आन्तरिक लिखीत सहमति गरेर रोहिणी क्षेत्रका ४ जना स्थानिय एजेन्ट मार्फत करिब ८ महिना लगाएर बगरको जग्गा असार २८ गते किनबेच भयो । लालपुर्जा नक्सा जुटाउनेदेखी जग्गाधनीसंग मोलतोल गर्नेगरी भरले बढीमा साढे ३ लाखमा प्रतिकठ्ठा जग्गा किन्नेगरी स्थानीय एजेन्टलाई जिम्मा दिए ।

जग्गाका मुख्य एजेन्ट कुमुद ढुंगाना र हर्ष भरले प्रतिकठ्ठा ५० हजार कमिशन दिनेगरी स्थानिय एजेन्टलाई सहमती गरे । र , पेश्की स्वरुप २० लाख पनि दिए ।

आयल निगमले केही जग्गा हरिप्रसाद पोखरेल र अनन्त घिमिरे मार्फत पास गरेको छ । उनीहरुले स्थानियसंग जिल्ला अदालत रुपन्देहीमा गइ वारेस लिएका थिए । केही जग्गा सिधैं किसान मार्फत पास गरेको छ । वारेस लिएर जग्गा पास गर्दा पनि मालपोत राजस्वमा ठगी भएको देखिएको छ । पोखरेल रोहिणी बगरको जग्गाको टेन्डर हाल्ने व्यक्ति हुन् । आयल निगमको नाममा असार २८ गते ८ विगाह ९ कठ्ठा र त्यसभन्दा अगाडी ५ विगाह ४ कठ्ठा रजिस्ट्रेशन पास भएको छ । निगमलाई चाहिएको २० विगाह हो । अन्य जग्गाको लालपुर्जा र नक्सा जुटाउन स्थानीय एजेन्टहरु दौंडधुप गरिरहेका छन् ।

जग्गा पास गर्नकोलागी जग्गा दलालहरुले माथीदेखी तल सम्म सेटिंग मिलाएको देखिएको छ । जिल्ला मालपोत कार्यलयको टोली रोहिणी खोला नजिकै रहेको प्रेम ढावामा बसेर जग्गा पास भएको थियो ।

त्यहां पास हुन नसकेको जग्गा राती ९ बजे सम्म बसेर पास गरिएको थियो । जग्गा पासकोलागी बा १ ञ २१४० नम्बरको निगमको गाडी सहितका कर्मचारीहरु मालपोत कार्यलय भैरहवामा थिए । तर सो सम्बन्धमा जिल्ला मालपोत कार्यलयका सुचना अधिकृत दामोदर भण्डारीले रातीमा काम भएको आफुलाई थाहा नभएको बताए । उनले नेपाल आयल निगम लि. बबरमहलको नाममा साविक पट्खौली, बसन्तपुर,धकधइ क्षेत्रमा पर्ने विभिन्न व्यक्तिको नाममा रहेको विभिन्न कित्ताको जग्गा पास गरेको बताए ।

जग्गा पास गर्नकोलागी नेपाल आयल निगमले काठमाण्डौंबाट पुस्कर कार्किलाई प्रतिनीधि पठाएको थियो । खोलो हिडीहरको जग्गा हेदैं नहेरी पास गर्नुभएछ भनी हामीले सोधेको जिज्ञासामा कार्किले भने “मलाइ निगमले रजिस्ट्रेन पास गर्न प्रतिनीधि पठाएको हो । अन्य विषयमा मलाई केहि थाहा छैन । म कागजपत्र हेरे । ठीक लाग्यो । पास गरेर आए अरु थाहां भएन ।”

आयल निगमले जग्गा खरिद हेर्ने जिम्मा कार्यलयका अधिकृत रबिन्द्र शर्मालाई दिएको थियो । हामीले शर्माको ९८५१०२६८३३ नम्बरमा सोमबार दिनभर धेरैपटक सम्पर्क गर्यौ तर उनको मोबाइल स्वीच अफ भएको छ । यो नेटवर्कमा तत्कालिन विभागीय मन्त्री, सचिव समेतको संलग्नता देखिन्छ ।

अब्बल जग्गा बढीमा ६ लाख पाइने ठाउमा बगरलाइ करिब ११ लाख

नेपाल आयल निगमले प्रतिकठ्ठा १० लाख ७५ हजारका दरले १४ विगाह ७ कठ्ठा जग्गा रोहीणीको बगर खरिद गरेको छ । उक्त जग्गा खरिद बापत आयल निगमले जग्गा दलाललाई ३० करोड ४२ लाख २५ हजार मूल्य नगद भुक्तान गरेको छ । सो क्षेत्रमै जग्गा किन्नैपर्ने भए बढीमा १ लाख रुपैयां प्रतिकठ्ठामा जग्गा पाइने स्थानिय बासिन्दा विजयनाथ यादब बताउंछन् ।

१० लाख ७५ हजार रुपैयां प्रतिकठ्ठामा जग्गा खरिद गरेको भएता पनि जग्गाधनीलाई प्रतिकठ्ठा १ लाख देखी बढीमा ३ लाख ५० हजार सम्म भुक्तानी दिइ पास गरिएको छ । जसबापत दलालले किसानहरुलाई लगभग साढे ८ करोड दिएका छन् । बाकी साढे २२ करोड जग्गाको सेटिंग टिमले कमिशन बापत राखेको बुझिएकोछ । उक्त सेटिंगमा तत्कालिन विभागीय मन्त्रीदेखी, आयल निगमका अधिकारी देखी स्थानिय एजेन्ट सम्म छन् । अहिले अन्य थप जग्गा व्यवस्थापन गर्न एजेन्टहरु दौडधुप गरिरहेका छन् ।

यता भर्खरै खरिद गरिएको जग्गामा खोलो हिडीरहेको छ । गत वर्ष सो ठाउभन्दा २ किलोमिटर पछाडी सम्म बाढी आएर पुरै बस्ती डुबाएको थियो भने ठूलो धनसम्पतीको क्षति भएको थियो । कयौं घरबार विहीन भएका थिए । अहिले खोलो हिडीरहेको ठाउमा आंखा चिम्म गरेर जग्गा किनेको प्रति यस क्षेत्रका सर्वसाधरण र जनप्रतिनीधीले आक्रोस व्यक्त गरेका छन् ।

रोहीणि गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डेले आयल निगमले अरबौं रकम खर्चेर खोलो किन्ने काम गरेको आरोप लगाए । उनले भने “यो गलत भएको छ । हाई वे संग जोडिएको ठाउमा राम्रो अब्बल जग्गा प्रतिकठ्ठा बढीमा ६ लाखमा पाइन्छ । तर खोलो हिडीरहको जग्गा ११ लाख ७५ हजारले किनबेच हुनु विडम्बना हो । हामी चुनाबमा भएको बेला थाहै नदिई यो सब काम भएको छ । यसलाई तत्काल रोक्छौं । हामी यहां कुनैपनि हालतमा यो जग्गा किन्न दिदैंनौं । त्यसको लागी यस क्षेत्रका जनताले जे बलिदानी गर्न पनि तयार छन् । आयल निगमलाई चाहिएको जग्गा हामी राम्रो ठाउमा दिलाउन जत्तिबेला पनि तयार छौं ।”