स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर ७ को विकट दार्चुला जिल्लाको दुहूँ गाउँपालिकाको अध्यक्षमा कांग्रेस पार्टीबाट पुलेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीसँग दुहुँ गाउँपालिकाको विकास र आगामी कार्ययोजनाबारे कृष्ण महरासंग गरेको कुराकानीः
दुहूँ गाउँपालिकाको अध्यक्षमा भारी मतसहित विजय हुनुभएकोमा हार्दिक बधाई दिन चाहन्छु ।
धन्यवाद, मलाई आफ्नो अमुल्य मत दिई दुहूँ गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी सुम्पनुहुने सारा दुहूँवासी मतदाताहरुलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।
यसरी सबै वडाहरुमा प्यानलसहित जित्छु भन्ने आश गर्नुभएको थियो ?
मेरो उमेद्धारी पार्टी भित्रै पनि पछिल्लो चरणमा उठेको हो र कार्यकर्ताहरुमा पनि पुलेन्द्र कार्की नै लड्नुपर्छ भन्ने जोड्दार माग त थियो नै जनमानसमा समेत गाउँपालिकामा पुलेन्द्र कार्कीलाई विजय गराउन सकियो भने पक्ष÷विपक्ष नभनेर यस क्षेत्रको विकासमा टेवा पुग्थ्यो भन्ने आवाज गुञ्जइसकेको हुनाले म उठे भने जित्छु भन्ने एक किसिमको पुर्वानुमान थियो । त्यहि योजना मुताविक हामी अगाडी बढ्यौँ र आम जनताले विजय गराउनुभयो ।
दुहूँवासी जनताका लागी गाउँपालिका अध्यक्षको हैसियतले तपाईबाट पहिलो निर्णय के हुनेछ ? केही सोच्नुभएको छ ?
निश्चय नै जनताको अभिमतको उच्च सम्मान गर्दै म शिक्षा क्षेत्रबाट राजनीतिक क्षेत्रमा प्रवेश गरेको व्यक्ति भएको हुँदा मेरो पहिलो निर्णय सम्भवतः शिक्षा क्षेत्र केद्रित हुनेछ । सामुदायिक विद्यालयहरुको स्तर सुधार गर्ने मेरो ध्येय हुनेछ । कुनैपनि व्यक्तिको शैक्षिक धरातल मजबुत बनाउन सकिए उसको जीवनस्तरमा अति नै सहयोग पुग्ने भएकोले पनि शिक्षा क्षेत्रमा केही गर्ने सोच लिएको छु । यस क्षेत्रका आम विद्यार्थीहरुको शैक्षिक जग बलियो बनाउन सके हाम्रा धेरै समस्याहरु हल हुनेछन् भन्ने कुरामा विश्वस्त छु ।
एक वर्ष भित्र दुहूँबासी जनताले महशुस गर्न पाउनेगरी केही गर्ने योजना भए जानौं न, के छ त्यस्तो योजना ?
दुहुँबासी आम जनताले पक्कै पनि महशुस गर्न पाउनेछन् । मुख्यतया पुर्वाधार विकास तथा निर्माण त छदैँछ, समानुपातिक ढंगले जनताका आधारभुत आवश्यकताहरु पुर्ती हुने गरी काम अगाडी बढाउन सधैं तत्पर रहनेछु । अर्कातिर राजनीति भित्रको शुद्दिकरण पनि मेरो अभियानकै रुपमा अगाढी बढ्नेछ ।
राजनीतिक शुद्दिकरण भन्नुभयो, त्यो भनेको केलाई इंगित गर्न खोज्नुभएको हो ? बुझ्ने भाषामा भनिदिनुस् न ।
भन्नुको मतलब जनताको राजनीति प्रतिको जुन वितृष्णा छ, फरक राजनीतिक दल र राजनीतिकर्मी प्रति जुन वैरभावको दृष्टिकोण छ, त्यो कम गर्न सक्नु नै राजनीतिक शुद्दिकरण हो । यो अभियानले एक किसिमको राजनीतिक सुशासन कायम गर्न मद्दत पुग्छ भन्ने मैले ठानेको छु ।
बीस वर्षपछि स्थानीय तहको निर्वाचन भएको छ, जनताले हिजोसम्म पाउने सेवा सुविधा र अब पाउने सेवासुविधामा के भिन्नता पाउनेछन् ?
जनप्रतिनिधी नहुँदाको अवस्थाभन्दा जनप्रतिनिधी हुँदाको अवस्थामा निश्चयपनि सार्वजनिक सेवा प्रवाह छिटोछरितो हुनेछ । योजना कार्यान्वयन समयमै सम्पन्न भई जनताले स्थानीय सरकारको महशुस गर्न पाउनेछन् । आर्थिक पारदर्शिता र जवाफदेहिता दुहुँ गाउँपालिकाको मुल उद्देश्य हुनेछ । समग्रमा हिजोको प्रवृति अबको स्थानीय तह र जनप्रतिनिधीमा हुनेछैन ।
दुहूँ गाउँपालिका प्रमुखको हैसियतले यस क्षेत्रको विकास निर्माण र समृद्ध बनाउन प्राथमिकताहरु कसरी निर्धारण गर्नुभएको छ ?
स्वाभाविक रुपले दुहूँ गाउँपालिका विकासमा पछाडि परेको क्षेत्र हो । कतिपय गाउँहरुमा न्युनतम् आवश्यकताहरुसमेत परिपुर्ती हुन नसकेको समेत मैले देखे–भोगेको छु । यसैगरी शैक्षिक क्षेत्रको बलियो आधार तयार पार्नु उत्तिकै जरुरी छ । त्यसपछि भौतिक पुर्वाधार विकास एवं चुस्त दुरुस्त सार्वजनिक सेवाप्रवाह अति नै आवश्यक छ । न्युनतम् आवश्यकता परिपुर्ती, शिक्षा क्षेत्र सुधार, पुर्वाधार विकास एवं छरितो सेवाप्रवाह लाई क्रमागत रुपमा अगाडी बढाउने सोच लिएको छु ।
प्रतिवद्दतापत्रमा युवा स्वरोजगारीका कुराहरु खुब जोड दिनुभएको छ, के छ त्यस्तो कार्ययोजना रोजगारी सिर्जना गर्ने ?
यो छोटो अन्तक्रियामा स्वरोजगारी जस्तो वृहत कार्ययोजनालाई व्याख्या गर्न नसकिएला तर म यत्ति भनिहालौँ मेरो चुनावी मुद्दा नै एउटा सुशासन र अर्को तपाइले भनेजस्तै स्वरोजगार हो । युवाहरुलाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित गर्नुपर्छ भन्ने मेरो जोड हो । यहि क्षेत्रको साधन स्रोत र जनशक्ति प्रयोग गरी कृषिलाई जीवन निर्वाहमुखी नभई व्यवसायिकतातर्फ लाने, विस्तारै पर्यटन व्यवसायमा पनि रोजगारी सिर्जना गर्न सकिने कयौँ सम्भावनाहरु छन् । हाम्रो पेशा व्यवसायको परम्परागत धारलाई थोरै भएपनि प्रविधिसंग जोड्दै आधुनिकततर्फ जोड्ने मेरो प्रयास रहनेछ जसले कहिँ न कहिँ युवा स्वरोजगारमा टेवा पु¥याउने नै छ अझ हामी यो प्रयासमा सफल भयौ भने केही हजार पैसा आर्जनको निमित्त लाखौँ तिरेर विदेशिनुपर्ने आम दुहुँवासी युवाहरुको प्रवृति समेत क्रमशः न्यनीकरणतर्फ जानेछ । आम जनता एवं सरोकारवाला सबैले सहयोग गर्नुभयो भने मलाई लाग्छ हामी प्रत्येक वडाबाट बार्षिक पन्ध्र/बीसका दरले युवाहरुलाई उद्यमशिलतातिर जोड्दै स्वरोजगार सिर्जना गरी मासिक पन्ध्र/बीस हजार कमाउन सक्ने स्थितिमा पु¥याउन मेरो चुनावी एजेण्डा पुरा गर्न सक्छु भन्नेमा म आशावादी छु । देशमा बढ्दो बेरोजगारीमाझ युवा स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नेछु ।
तपाईलाई विश्वास गरेर जिताउने आम दुहूँ वासी जनतालाई के भन्न चाहनुहुन्छ ?
आदरणीय दुहूँवासी जनतालाई म माथी विश्वास गरेर मलाई दुहूँ गाउँपालिकाको जिम्मेवारी सुम्पनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईहरुको यति ठुलो विश्वास डग्मगाउन दिने छैन भन्ने पुःन प्रतिवद्दता व्यक्त गर्दछु ।
कतै जनतालाई सेवा प्रवाह, बजेट वाँडफाँड वा अन्य कुनै परिवेशमा एमाले, माओवादी वा अन्य दलप्रति आस्था भएकै कारण आग्रह पुर्वाग्रह त हुने होइन् भन्ने डर छ नि, के भन्नुहुन्छ ?
कदापी हुँदैन । नेपाली कांग्रेसकै उमेद्दवार भएर निर्वाचन लडे हुँला तर आजबाट म नेपाली कांग्रेसको नभई सम्पुर्ण दुहूँवासीको प्रतिनिधी हुँ । मलाई नेपाली कांग्रेसले निर्वाचित गरेको नभई जनताले निर्वाचित गराएको हो । त्यसकारण म बाट पार्टीगत पुर्वाग्रह हुन्छ कि भन्ने कल्पनासम्म नगर्न आम जनतालाई विनम्र अनुरोध गर्दछु ।
पाँच वर्षे कार्यकालको आगामी राजनीतिक यात्रा सफल रहोस् शुुभकामना ।
धन्यवाद, यहाँहरु सबैको साथ,सहयोग र सल्लाहले मेरो आगामी राजनीतिक यात्रा सफल हुनेछ भन्ने विश्वास लिएको छु । अबको पाँच वर्ष दुहूँवासी र तत्पश्चातको जीवन दार्चुलासहित समग्र देश र जनताको सेवामा समर्पित गर्नेछु ।












प्रतिक्रिया