– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ३० असार । कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी (साविक शिवगढी गाविस) लाई पूर्ण सरसफाई वडा घोषणा गरिएको छ ।
नव निर्वाचित नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी चौधरी र वडाध्यक्ष चुरबहादुर खडकाले साबुन पानीले हात धोएर वडालाई सरसफाई घोषणा गर्नुभएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि रहेका नगर प्रमुख अधिकारीले शिवगढीलाई सरसफाई उन्मुख घोषणा गर्ने अवस्थामा ल्याई पु¥याउन शिवगढीबासीले खेलेको अहम भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले वडा नम्बर ९लाई स्वच्छ, सुन्दर र हराभरा बनाइराख्न वडाबासी निरन्तर लाग्नुपर्ने सुझाव समेत दिनुभयो । यस्तै प्रकारले नगरका ११ वटै वडालाई क्रमशः सरसफाई उन्मुख घोषणा गर्दै सन् २०१७ भित्र सिंगो शिवराज नगरलाई नै पूर्ण सरसफाई घोषणा गर्न सम्पूर्ण नगरबासी लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष चुरबहादुर खडकाले आफ्नो गाउँघरलाई सधै सफासुग्घर राख्न सबैजना निरन्तर क्रियाशील रहने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा जिल्ला वास सल्लाहकार विपिन पौडेल, कालिका स्वावलम्बन सामाजिक केन्द्रका प्रतिनिधि सुदिप चापागाईं, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक विक्रम के.सी. लगायतले शिवगढीलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणामा शिवगढीबासीको महत्वपूर्ण योग्दान रहेको चर्चा गर्नुभएको थियो ।
शिवगढीलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न खानेपानी तथा सरसफाई स्वच्छता समन्वयन समिति कपिलवस्तुको सक्रियता रहेको थियो । साविक शिवगढी गाविसको ११सय ३७ घरधुरी पूर्ण सरसफाई सूचांकको आधारमा शिवगढीलाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको वडासचिव प्रेमसागर वलीले जानकारी दिनुभयो । कार्यक्रममा वडासचिव वलीले पूर्ण सरसफाई घोषणासम्बन्धी तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शिवगढीलाई पूर्ण सरसफाई क्षेत्र घोषणा गर्न अहम भूमिका खेल्ने अभियानकर्मीहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।













प्रतिक्रिया