२१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठ न्यूयोर्क प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं, ३० असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा साउन २ देखि ४ गतेसम्म आयोजना हुने दीगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक मञ्च विषयक कार्यक्रममा भाग लिन पाँच सदस्यीय टोलीको नेतृत्व गरी शुक्रबार साँझ न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

उक्त उच्चस्तरीय राजनीतिक मञ्चमा संंयुक्त राष्ट्रसंघले घोषणा गरेको दीगो विकास लक्ष्यहरु बारेमा समीक्षा गरिनेछ । यस वर्ष दीगो विकासका एजेण्डामा सहभागी राष्ट्रहरु मध्ये नेपाल लगायत ४४ वटा मुलुकहरुले भोलेन्टरी नेशनल रिभ्यु गर्ने कार्यक्रम रहेको छ । यस अन्तर्गत दीगो विकासका लक्ष्यहरु हासिल गर्ने दिशामा गरिएका प्रयासहरु र सो सम्बन्धी विवरण तथा हालको अवस्था पेश हुनेछन् ।

त्यस अवसरमा उपाध्यक्ष डा. श्रेष्ठले सोही कार्यक्रमको साइडलाइनमा आयोजना हुने कार्यक्रमहरु जस्तै डाटा रिभोलुसन फोर पोभर्टी इराडिक्सन, २०३० एजेण्डा प्राप्तीसम्बन्धी सत्रहरुमा भाग लिनुहुनेछ ।

संयुक्त राष्ट्रसंघले सेप्टेम्बर २०१५ मा घोषणा गरेको दीगो विकास लक्ष्यहरुमा नेपाल लगायत विश्वका सबै जसो मुलुकहरु सहभागी रहेका छन् ।

नेपालले पनि दीगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्नको निम्ति प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यक्रम कायान्वयन तथा समन्वय समिति लगायत विभिन्न नौ वटा विषयगत समितिहरु गठन गरेको छ ।

नेपाली टोलीमा राष्ट्रिय योजना आयोगको सचिवालयका सचिव विष्णुप्रसाद लम्साल, सह सचिव लालशंकर घिमिरे, अर्थ मन्त्रालयका सह सचिव लक्ष्मण अर्याल र परराष्ट्र मन्त्रालयका सह सचिव भरतराज पौड्याल रहनुभएको छ ।