काठमाडौं, ८ कात्तिक । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले महत्वपूर्ण विषयमा सहमति नभए जनमतसङ्ग्रह गरेर अघि बढ्नाको विकल्प नभएको बताएकी छन् ।
नेपाल संवत्, तिहार र छठपर्वका अवसरमा शुक्रबार आफ्नै निवासमा महिला पत्रकारसँगको भेटमा उनले आगामी माघ ८ भित्र संविधान जारी गर्नका लागि नमिलेका कुरालाई थाती राखेर जनताको बीचमा पुग्नुपर्ने बताइन् । भण्डारीले भनिन्, ‘सङ्घीयता र शासकीयस्वरुपका विषयमासहमति नभए माघ ८ भित्र संविधान जारी गर्नुपर्छ, देशलाई कसैले पनि अनिर्णको बन्दी बनाउनु हुँदैन ।’
उनले समय बढाउँदैमा मात्र संविधान नबन्ने भएकाले प्रक्रियामा गएर संविधान जारी गर्नुपर्ने बताइन् । उनले सञ्चार नीति महिलामैत्रीे बनाउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष अनिता विन्दु र पत्रकार यशोदा तिम्सिनाले सञ्चार नीतिका मस्यौदामा कतिपय विषय महिलामैत्री नभएको अवगत गराए ।
राष्ट्रिय समाचार समितिका नायब महाप्रवन्धक निर्मला आचार्यले सञ्चार क्षेत्रमा महिलाको सङ्ख्या कम भएको र त्यसमा पनि राजनीतिक विषय हेर्ने महिलाको सङ्ख्या अत्यन्तै कम रहेको बताइन् ।
क्रियाशील महिला पत्रकार (डब्लु डब्लु जे) का अध्यक्ष शुभेच्छाविन्दु तुलाधर, सञ्चारिका समूहका महासचिव नितु पण्डितलगायतले सञ्चारमाध्यमभित्रका समस्या र समग्र महिला पत्रकारको समस्याका बारेमा आआफ्ना विचार राखेका थिए ।















प्रतिक्रिया