पाँचथर, २६ असार । स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरित कार्य गरेको ठहर गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बम बहादुर सम्बाहाम्फेलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
राप्रपाको आधकारिक निर्णय र हित प्रतिकूल बागी उम्मेद्वार उठाउन सक्रिय भूमिका निभाएको र बागी उम्मेद्वारको लागि भोट माग्दै हिडेको कारण सम्बाहाम्फेलाई राप्रपाले अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।
असार २२ गतेको बसेको वैठकको निर्णय बमोजिम आवश्यक कारवाही अगाडि बढाइएको जानकारी राप्रपा कुम्मायक गाउँपालिका अध्यक्ष जगतजंग लावतीले बताउनुभयो ।
पार्टी स्रोतका अनुसार, क्षेत्रीय सदस्य सम्बाहाम्फेले निर्वाचनको क्रममा प्रतिपक्षी दलसँग अप्राकृतिक साँठगाँठ गरेको र यसै शिल्शिलामा आर्थिक लेनदेन समेत गरेको रिपोर्ट प्राप्त भएको अवस्थामा विधानको व्यवस्था बमोजिम अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो ।
पार्टी हित विपरीत कार्य गरेको स्थापित भएको अवस्थामा सम्बाहाम्फेलाई हदैसम्मको कारवाही हुने निश्चित छ । सम्बाहाम्फेलाई स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ र प्राप्त जवाफ बमोजिम अनुशासनको कारवाही अघि बढाइने छ ।
यसको अतिरिक्त पार्टी अनुशासन र निर्णय विपरीत बागी उम्मेद्वारको रुपमा खडा भएका महेन्द्र लावती र आश बहादुर सम्बाहाम्फेलाई भने पार्टीको साधारण सदस्य समेत नरहने गरी राप्रपाले निष्काशन गरी सकेको छ ।












प्रतिक्रिया