३१ आश्विन २०८३, शनिबार

काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेह्रथुम, २६ असार । नवनिर्वाचित जनप्रतिनिधिको पहलमा धनकुटाको सिधुवादेखि तेह्रथुमको छथर गाउँपालिकाको केन्द्र शुक्रबारे जोडिने सडक स्तरोन्नतिको काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।

आइतबार छथर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सन्तोष तिगेलाको पहलमा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालसहित स्थानीय विकास अधिकारी तुलसीनाथ गौतमको अध्यक्षतामा बसेको बैठकले १५ दिनभित्र सडकको काम सन्तोषजनक नभए कारबाही गर्ने चेतावनी दिएको हो ।

जिल्लाको छथर गाउँपालिकालाई कोसी राजमार्गसँग जोड्ने नौ किलोमिटर दूरीको सिधुवा–शुक्रबारे ग्रामीण सडक स्तरोन्नतिको काम काठमाडौँको वाइपी कन्स्ट्रक्सनले लिएको थियो ।

तर सो कम्पनीले पाँच महिनादेखि काम पनि नगरेको र सम्पर्कविहीन रहेको थियो । ठेकेदार कम्पनीले समयमा काम नगरेपछि अहिले वर्षाका कारण सडक हिलाम्मे बनेर यातायात अवरुद्ध भएको छ । सो सडकमा नियमित सवारी सञ्चालन हुन नसक्दा यात्रीलाई सास्ती भइरहेको छ । एम्बुलेन्सदेखि ट्याक्टरसमेत नगुड्ने गरी सडक बिग्रिएपछि छथरवासीले सास्ती खेपिरहेका छन् ।

वैशाख मसान्तभित्रै सक्ने गरी एक वर्ष अघि कामको जिम्मा लिएको ठेकेदार कम्पनी काम छाडेर सम्पर्कविहीन भएको हो । सो कम्पनीले काम नगरे कारबाही गर्ने निर्णय भएको छथर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । बैठकले साउन दोस्रो हप्तासम्म पनि सडकको सन्तोषजनक काम नभए ठेक्का सम्झौता तोडेर कारबाही गर्ने निर्णय गरेको छ ।

झन्डै डेढ दशकअघि नै सडकको ट्र्याक खोल्ने काम भए पनि अहिलेसम्म सडक बाह्रै महिना यातायात सञ्चालनयोग्य बनेको छैन । तर सडकमा वर्षेनी लाखौँ रुपैयाँ मर्मत सम्भारमै खर्च भइरहेको छ । हिउँदमा धुलो र वर्षामा हिलोले यात्रुलाई सास्ती छ । बल्ल थालेको काम पनि ठेकेदारले बीचमै छाडेर भागेपछि स्थानीय भने आक्रोशित भएका थिए । रासस