३१ आश्विन २०८३, शनिबार

टेलिकमद्वारा ल्याण्ड लाइन फोनको गुणस्तर बृद्धि गर्न प्रविधि परिवर्तन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २४ असार । नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन (ल्याण्ड लाइन)टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न आरम्भ गरेको छ ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले २०७४ असार २३ गते कम्पनीको ललितपुरको ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पिएसटिएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्यको आरम्भ गर्नुभयो । साथै उहाँले पुरानोे टिडिएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नती गर्ने कार्यको शुभारम्भ गर्नु भयो । शुक्रवार नै ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय २४ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको  छ ।

आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणहरुलाई आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गरिनेछ । आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्याण्ड लाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकि ल्याण्डलाइन सेवालाई पनि क्रमशः आइ पि वेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने लक्ष्य रहेको छ । आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्याण्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधि अन्तर्गतका एक्सचेन्जहरुबाट ग्राहकको मागअनुरुप एडिएसएल लाइन उपलब्ध गराउन समेत सम्भव हुनेछ । साथै

भविष्यमा ल्याण्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तैः आइपिटिभि, भिडियो अन डिमान्ड (IPTV, Video On Demand) आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने छ ।

ल्याण्ड लाइन सेवाको स्तरोन्नती कार्यको आरम्भ गर्दै कम्पनीका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गर्दै ग्राहकलाई केन्द्र बिन्दुमा राखेर गुणस्तरीय सेवा सुविधा प्रदान गर्न र  यसका लागि आक्रामक बजार रणनिति बनाई त्यसैअनुसार आगामी दिनमा कार्य गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २५ वर्ष अघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरुप आधुनिक आइ पि वेस्ड प्रविधिमा रुपान्तरण गरी उपभोक्ताको माग अनुरुपको भ्यालुएडेड सेवा समेत वितरण गर्न सकिने गरी स्तरोन्नती गर्न आरम्भ गरिएको बताउनु भयो ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले  सञ्चालनमा रहेका पिएसटिएन प्रविधि अन्तर्गतका सम्पूर्ण लाइनको रुपान्तरण कार्यक्रम अनुरुप समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रविधि रुपान्तरण कार्यमा सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिनु भयो । स्मरणीय छ, नेपालमा ल्याण्डलाइन प्रविधिको सेवा उपलब्ध गराउने नेपाल टेलिकम एक मात्र सेवाप्रदायक हो ।