१५ कार्तिक २०८३, आइतबार

प्रदेश ५ मा यसरी सफल भयो एमाले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असार । दोस्रो संविधानसभा चुनावमा रूपन्देहीमा कांग्रेसले ७ निर्वाचन क्षेत्रमध्ये ३ मा जित हासिल गरेको थियो । यहाँका केही सहर उक्त पार्टीको ‘गढ’ मानिन्थे । तर, स्थानीय चुनावमा कांग्रेस २ तहमा खुम्चिएको छ, त्यसमा पनि उपप्रमुख गुमाएर । कांग्रेसले कतै माओवादी केन्द्र त कतै राष्ट्रिय जनमुक्तिसँग तालमेल गरे पनि एमालेले उछिनेको छ ।  कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कांग्रेस कार्यकर्ता गुट–उपगुट र प्रदेश विभाजनताका पार्टीको भूमिकाले स्थानीय चुनावमा धक्का लागेको विश्लेषण गर्न थालेका छन् । बुटवल उपमहानगरमा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले परिणामबारे पार्टीभित्र छलफल हुने बताए ।
यहाँ माओवादी केन्द्रले जम्मा एक तहमा प्रमुख पद जितेको छ । राप्रपाले भने त्यो पनि पाएन । संविधानसभा चुनावमा जम्मा एक क्षेत्र जितेको एमालेले भने अहिले ७ स्थानीय तहमा सफलता पाएको छ । उसले बुटवल उपमहानगरसहित ४ नगरपालिकामा वर्चस्व जमायो । कांग्रेस गढ मानिएको तिलोत्तमा नगरपालिकामै एमालेले जित्यो । यहाँ कांग्रेस नेता बालकृष्ण खाँडका भाइ रामकृष्ण उम्मेदवार थिए ।
सैनामैना र सिद्धार्थनगर नगरपालिकामा पनि एमालेले कब्जा जमायो । नगरोन्मुख सियारी, शुद्धोधन र कञ्चन गाउँपालिकामा उसैको वर्चस्व रह्यो । प्रमुख पद गुमाएका स्थानमा पनि वडा र सदस्यमा एमालेको अग्रता छ । विश्लेषक पदमबहादुर कार्की एमालेको जितमा बलियो संगठन र प्रदेश विभाजनविरुद्ध उसले सञ्चालन गरेको अभियानलाई प्रमुख मान्छन् । त्यति बेला यहाँका कांग्रेस र माओवादी केन्द्रका नेता–कार्यकर्ता नै पार्टीभित्र विद्रोह गरेर आन्दोलनमा होमिएका थिए । कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझीले उनीहरूलाई साथ दिए पनि अरू नेता चुप थिए । अहिलेको चुनावमा दुई पार्टीलाई त्यही मुद्दाले असर पुर्‍याएको चर्चा सुनिन थालेको छ  ।
कांग्रेसले जिल्लाका विभिन्न नगरमा माओवादीसित तालमेल गरेको थियो । गठबन्धनका उम्मेदवारले देवदह नगरपालिका र मायादेवी गाउँपालिकामा जित हात पारे । देवदहका ११ मध्ये ९ वडा र उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भए । मायादेवीमा प्रमुख/उपप्रमुख दुवै जिते पनि वडामा वर्चस्व छैन । विश्लेषक युवराज कँडेल प्रदेश विभाजन निर्णयको विरोधमा कांग्रेस नेता खुलेर नलाग्नुले चुनावमा प्रभाव परेको बताउँछन् । ‘प्रदेश नम्बर ५ बाट पहाड र तराईका जिल्ला टुक्र्याउन नहुने एमाले अडानले पहाडी तथा थारू बस्ती, राजमार्ग र आसपास क्षेत्रका मतदाताको मन जितेको देखिन्छ,’ उनले भने ।