
काठमाडौं, २२ असार । नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न बिकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोवाइल सेवाका नयाँ प्रविधिमा स्तरउन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ ।
धौलागिरीका चारवटा जिल्ला पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रीजी बिटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याईएको हो ।
गत वैशाखदेखि धौलागिरी अञ्चलका दुर्गम तथा ग्रामीण स्थानहरुमा ७४ वटा टूजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा थ्रीजी बिटीएस स्थापना गरी सञ्चालनमा ल्याईएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यी स्थानहरुमध्ये कतिपय यस अघि कुनै पनि सेवा नपुगेका स्थानहरु जस्तै मुस्ताङको मुक्तिनाथ देखि लोमान्थाङ सम्मको सम्पूर्ण उपल्लो मुस्ताङ, म्याग्दीको गुर्जा र बाग्लुङको ढोरपाटन पनि रहेका छन ।
त्यस्तै गरी गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरुमा १३ वटा टूजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा थ्रीजी बिटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दुधिलाभाटी स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।
यस मध्ये नेपाल टेलिकमले म्याग्दीको रघुगंगा गाँउपालिकाको केन्द्र पाखापानीमा ३० मीटरको ग्राउण्ड बेस्ड बिटीएस टावर स्थापना गरी २०७४ आषाढ २० गतेदेखि टूजी सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त टावर सञ्चालन पश्चात पाखापानी, कोटडाँडा, ठाडाखानी, रायखोर, चिमखोला, दमीज र कुइनेमंगलेका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।
साथै बाग्लुङको पयूँपाटा खर्सेडाँडामा बिटीएस टावर स्थापना गरी २०७४ आषाढ २१ गतेदेखि टूजी तथा थ्रीजी सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त टावर सञ्चालन पश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् ।
अव यस क्षेत्रका उपभोक्ताहरुले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्ने छन् ।















प्रतिक्रिया