म्याग्दी, ४ कात्तिक । म्याग्दीका एक शिक्षकले सात वर्षभन्दा लामो समयदेखि विद्यालयमा नै नआई तलब खाइरहेको रहस्य खुलेको छ ।
उत्तरी म्याग्दीको नारच्याङ गाविसस्थित क्रान्ति प्राविमा २०६४ साल जेठ १ गते नियुक्ति लिएका प्रावि द्वितीय श्रेणीका शिक्षक यज्ञप्रसाद शर्माले सात वर्षसम्म विद्यालय नै नटेकिकन तलब खाएको जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ ।
विसं २०४४ साल असोजदेखि नारच्याङकै प्रभा निमाविबाट शिक्षणकार्य सुरु गरेका शर्माले क्यान्सरबाट पीडित भएकाले उपचारका लागि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गर्नुपरेको भन्दै सरुवाको व्यवस्था मिलाइदिन शिक्षा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएका थिए ।
तत्कालीन शिक्षा तथा खेलकुद मन्त्रीको तोक आदेशमा शिक्षा विभागले २०६४ जेठ २४ गते जिल्ला शिक्षा कार्यालय चितवनलाई आवश्यक सहयोग गर्न पत्राचार गरेको थियो ।
क्यान्सरको उपचारका लागि सरुवा गर्न अनुरोध गर्दै चितवनमा पत्रचार गरिए पनि त्यसको कुनै पनि जानकारी वहाल रहेको विद्यालय र जिशिका म्याग्दीलाई नगराई बोधार्थ पत्र पठाएर मन्त्रालयको आदेश भन्दै तलब माग्ने गरेको विद्यालय स्रोतको भनाइ छ । शिक्षक शर्माले नयाँ किरण माविको हाजिर पठाउँदै तलब भुक्तान गर्न दबाब दिने गरेका थिए ।
जिशिकाले दरबन्दी मिलानका क्रममा ज्ञानप्रकाश मावि दानाबाट गत भदौ १२ गते शर्मालाई पिप्ले गाविसस्थित ज्ञानोदय माविमा सरुवा गरेको थियो । त्यहाँ पनि आउन अटेर गरेपछि विद्यालयले दबाब दिँदा सोमबार मात्र उनी सम्पर्कमा आएका विद्यालयका प्रधानाध्यापक नीलकण्ठ सुवेदीले बताउनुभयो ।
शिक्षक शर्माले आफूले केन्द्रबाट उच्च व्यक्तिको तोकमा चितवनमा अध्यापन गरेको बताएका छन् । शिक्षा नियमावलीमा कुनै एक जिल्लाबाट अर्को जिल्लामा सरुवा भएर जान दुवै विद्यालय र शिक्षा कार्यालयको अनुमति आवश्यक पर्ने प्रावधान रहेको छ । उनलाई विद्यालयको नाम मात्रै थाहा छ, विद्यालय देखेका छैनन्, विद्यालय पनि जाँदैनन् तर पनि नियमित तलब सुविधा लिइरहेका छन् । रासस















प्रतिक्रिया