३१ आश्विन २०८३, शनिबार

तिहारमा सुरक्षा व्यवस्थामा कडाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यमबहादुर बम
धनगढी,  ४ कात्तिक । तिहारमा हुन सक्ने अपराधिक घटना नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको जनाएको छ ।
तिहारको समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट तथा अवान्छित क्रियाकलाप नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न कैलालीमा सुरक्षा व्यवस्थामा कडाइ तुल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिनुभयो । तिहारको बेला पटाका भित्रिन नदिने सीमा नाकामा कडाइ गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट ल्याइने पटाका तथा विष्पोटक पदार्थ  जस्ता समान नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले पटका तथा विष्पोटक पदार्थ प्रयोग नगर्न पर्चा पम्प्लेटिङसहित माईकिङ समेत गरेको जनाइएको छ ।

नियन्त्रणको प्रयास गर्दागर्दै कसैले पटाका ल्याएर बिक्री गर्ने र पड्काउने कार्य गरेको फेला परे प्रचलित ऐनबमोजिम कारबाही हुने प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।

चाडवाडका वेला हातहतियार तथा लागूऔषधको कारोवार, गुण्डागर्दी, कालोबजारी, उपहार योजनाका नाममा ठगी,  अवैध मदिरा कारोबार तथा जुवातास बढन सक्ने भएकाले नियन्त्रणका लागि उच्च सुरक्षा सतर्कता अपनाइने प्रहरी उपरीक्षक चन्ले बताउनुभयो ।

सादा पोशाकमा प्रहरी परिचालन गर्ने तथा शंकास्पद मानिसमाथि निगरानी राख्ने, सोधपुछ गर्ने, आवश्यकता अनुसार नियन्त्रणमा लिइने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गाडी चलाउन सक्ने भएकाले राजमार्गमा ट्राफिक प्रहरीको समन्वयमा २४ घण्टा प्रहरी खटाइएको र विभिन्न स्थानमा चेकजाँच  भइरहेका उहाँले जानकारी दिनुभयो ।