१५ कार्तिक २०८३, आइतबार

डीआईजीलाई कारबाही, पदीय आचरणविपरीत कार्य गरेको आरोप

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई कारबाही गरेको छ । उद्योगी व्यवसायी र मातहत निकायसँग रकम माग गरेको पुष्टि भएपछि सशस्त्र मुख्यालयले उनलाई कारबाही गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

पदीय आचरणविपरीत उद्योगी व्यवसायी र मातहत निकायसँग पटक पटक रकम माग गरेको भन्दै डीआईजी सिंहमाथि हदैसम्मको कारबाहीको मागसहित उजुरी परे पनि सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ‘नाम मात्रै’ को कारबाही गरेकोमा सशस्त्र मुख्यालयभित्रै असन्तुष्टि बढेको छ । डीआईजी सिंह आईजीपी श्रेष्ठ निकट मानिन्छन् ।

डीआईजी सिंहको कार्यशैलीले सशस्त्र प्रहरी बलकै बेइज्जत भइरहेको भन्दै उच्चपदस्थ अधिकारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेकोमा सचेत मात्र गराएर उनलाई उन्मुक्ति दिन खोजेको सशस्त्रका उच्च अधिकारीहरुको बुझाइ छ ।

डीआईजी सिंहले उद्योगी व्यवसायी र मातहतका निकायसँग रकम माग गरेको उजुरी परेपछि सशस्त्र मुख्यालयले तीन सदस्यीय छानबिन टोलीसमेत गठन गरेको थियो । सशस्त्र मुख्यालयले टोलीलाई ‘फिल्ड’ मै खटाएर डीआईजी सिंह र पीडितसँग वयानसमेत लिएको थियो । छानबिन समितिले डीआईजी सिंहले प्रशस्त मात्रामा आर्थिक अनियमितता गरेको प्रतिवेदन दिएपनि उनलाई सचेत मात्रै गराइएको हो ।

स्रोतका अनुसार डीआईजी सिंहले आगामी दिनमा गल्ती नदोहो-याउने बताएपछि उनलाई सचेत मात्रको कारबाही गरिएको हो । सशस्त्र प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) राजु अर्यालले आर्थिक अनियमितताको अभियोगमा डीआईजी सिंहलाई सचेत गराइएको पुष्टि गरे । ‘डीआईजी सिंहमाथि आर्थिक अनियमितताको अभियोग लागेपछि उनीमाथि मुख्यालयले छानबिन थालेको थियो, छानबिनपछि उनलाई सचेत गराइएको हो,’ नवनियुक्त प्रवक्ता अर्यालले भने ।

स्रोतका अनुसार, डीआईजी सिंहले मध्यक्षेत्रका उद्योगी व्यवसायीलाई टेलिफोन नै गरेर र भेटेर रकम असुल्दै आएका छन् । यसका लागि उनले घुमुवासमेत परिचालन गर्दै आएका छन् । उनले सशस्त्र मुख्यालयसहित माथिसम्मै मिलाउनु पर्ने भन्दै रकम माग गर्ने गरेको स्रोतले बतायो ।

यति मात्र नभई डीआईजी सिंहले मध्यक्षेत्र मातहतका गण, सीमा सुरक्षा कार्यालय, गुल्म र बीओपीलाई मात्रै नभएर बेसलाई समेत मासिकरुपमा रकम बुझाउन दबाब दिएको स्रोतको दाबी छ । हरेक महिनाजसो रकम बुझाउन दबाब दिएपछि गणपति, गुल्मपति र बीओपी प्रमुख इन्सपेक्टरसमेत हैरान बनेका छन् । स्रोतका अनुसार, डीआईजी सिंहबाट पीडित नहुनेमा उनीमातहतका कमै मात्र इञ्चार्ज छन् ।

डीआईजी सिंहले भने आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको दाबी गरे । ‘हो, सशस्त्र हेडक्वाटरले ममाथि छानबिन गरेको थियोे,उजुरी परेपछि छानबिन थाल्नु सामान्य कुरा हो,’ डीआईजी सिंहले राजधानीसँग भने । उनले आफूले कुनै पनि उद्योगी व्यवसायी र मातहत निकायसँग रकम नलिएको दाबी गर्दै समाचार नलेख्न पटक पटक आग्रह गरे । ‘बरु हामी भेटेरै कुरा गरौं, समाचार चाहिँ नलेखिदिनु होला,’ उनले भने ।

नेपाल प्रहरीमा जवानमा छिरेका सिंह सशस्त्र प्रहरी बलमा डीएसपीमा स्थानान्तरण भएका थिए । हालका चार जना एआईजीहरु शैलेन्द्र खनाल, पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल प्रहरी निरीक्षक हुँदा उनी हवल्दार थिए । उनी पूर्वसशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसँगै फुटबलसमेत खेल्थे ।

डीआईजी सिंह मध्यक्षेत्र जानुभन्दा अघि पश्चिम क्षेत्र पोखराको बाहिनीपति थिए । त्यहाँ पनि उनको आर्थिक अनियमितताका कुरा बाहिर आएका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले आफू आईजीपी भएको केही दिनमै डीआईजीको सरुवा गरी उनलाई पश्चिम क्षेत्रबाट मध्यक्षेत्रको बाहिनीपति बनाएका थिए । त्यसबेला आईजीपी श्रेष्ठले डीआईजी सरुवामा कुनै अडान लिन नसकेको, बाहिनीपति भइरहेका व्यक्तिलाई फेरी बाहिनीपति बनाएको भन्दै उनको चर्काे आलोचना भएको थियो । डीआईजी सरुवाका बेला शक्तिकेन्द्रप्रति आत्मसमर्पण गरेकोलगायतका आरोप उनीमाथि लागेका थिए ।

डीआईजी सरुवाप्रति असन्तुष्ट एक जना पूर्वआईजीपीले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले डीआईजी सरुवामा भ्रष्ट अधिकारीलाई प्राथमिकता दिएको भनेर राजधानीसँग असन्तुष्टि समेत जनाएका थिए । त्यसबेला ती पूर्वआईजीपी भनेका थिए, ‘डीआईजी सरुवामा शक्तिकेन्द्रको दबाब त आउँछ नै, त्यसमा अडान लिनसक्नु पर्छ, नवनियुक्त आईजीपी श्रेष्ठले शक्तिकेन्द्रप्रति आत्मसमर्पण नै गरे ।’

आईजीपी श्रेष्ठ भने पटक पटक टेलिफोन गर्दा पनि सम्पर्कमा आएनन् । मोबाइलबाट म्यासेज पठाउँदा पनि उनले त्यसको कुनै जवाफ दिन उचित ठानेनन् ।