
काठमाडौं, ८ असार । राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ ।
आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२ मा २ असोजका लागि निर्धारित तेस्रो चरणको निर्वाचनमा सहभागी हुने सुनिश्चितता देखाए नयाँ मतपत्र छाप्न सकिने संकेत गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
‘राजनीतिक परिस्थिति त्यहीअनुसार अघि बढेको छ । नयाँ दल दर्ता र नयाँ चिह्न दिनुपर्ने अवस्था देखिँदै छ । त्यो अवस्थामा नयाँ मतपत्र छाप्न आयोगलाई समय पनि छ । लामो समयसम्मको ग्याप केका लागि त ?’ आयोग स्रोतले भन्यो, ‘उहाँहरू निर्वाचनमा सहभागी हुन समयभित्र नै प्रक्रियामा आए नयाँ मतपत्र छाप्न सकिन्छ ।’
तर असार मसान्तभित्रै सरकार र राजपाबीच सहमति भएर प्रक्रियामा आइसक्नुपर्ने आयोगको भनाइ छ । नयाँ मतपत्र छाप्न सात साताको समय लाग्ने र सरकारले थप रकम उपलब्ध गराउनुपर्ने आयोग स्रोतले जनाएको छ ।
राजनीतिक दलहरूबीच सहमति भएअनुसार नै आयोगले काम कारबाही अघि बढाउने र निर्वाचन सबैका लागि र सबैलाई सहभागी गराउने उद्देश्यअनुरूप आन्दोलनरत पक्षसँग सरकारले सहमति गरेर नै निर्वाचन सारेकाले त्यो सम्भावना बढेको आयोग स्रोतले बताएको हो ।
हाल निर्वाचन प्रयोजनका लागि दर्ता भएका बाहेक अन्य राजनीतिक दलहरूसमेत निर्वाचनमा सहभागी हुने अवस्था आएर नयाँ परिस्थिति बने आयोग नयाँ मतपत्र छाप्न तयार देखिएको छ । तर असारको अन्त्यसम्ममा नयाँ दलहरू दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया पूरा गरेर आउँदा मात्र त्यो सम्भावना रहने स्रोतले बताएको छ ।
प्रक्रिया पूरा गरेर दर्ता हुने नयाँ राजनीतिक दलहरूले समेत हाल कायम भएकै चिह्न लिन मान्ने अवस्था भए भने नयाँ मतपत्र छाप्नुपर्नेछैन । आयोगले अहिलेसम्म आन्दोलनरत पक्षलाई उनीहरूको मागबमोजिम निर्वाचन चिह्न दिने औपचारिक निर्णय भने गरेको छैन ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै प्रदेशका लागि मतपत्र तयारी अवस्थामा रहेकाले नयाँ मतपत्र छाप्ने विषयमा छलफल नै नभएको बताए । ‘नयाँ मतपत्र छाप्ने कुनै त्यस्तो निर्णय भएको छैन, आयोगले पहिले नै छापेको मतपत्र तयारी अवस्थामा छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।












प्रतिक्रिया