३१ आश्विन २०८३, शनिबार

‘कतारमा रहेका नेपाली श्रमिकहरू डराउनु पर्दैन, सरकार तयारी अवस्थामा छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फरमुल्लाह मन्सुर, श्रममन्त्री

साधारण जीवनयापन गर्दै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरको अहिले अलिक धेरै चर्चा छ । उनले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै खाडी मुलुकहरूबीच केही तिक्तता बढ्दै गएको छ । मन्सुरलाई खाडी क्षेत्रमा देखिएको राजनीतिक संकट र अविश्वासले पिरोलिरहेको छ । कतारमा नेपाली श्रमिकहरू थुप्रै छन् ।

मन्त्री मन्सुर खाडी क्षेत्र विशेष गरेर कतारसँग छिमेकी राष्ट्र र अमेरिकाले गरेको व्यवहारबाट मसिनो जानकारी राखिरहेका छन् । सबै कुरा थाहा पाएपछि उनले कतारमा मात्रै होइन समग्र खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरूलाई आइपर्ने समस्याबाट जुध्न के–के गर्न सकिन्छ भनेर आन्तरिक तयारी समेत थालेका रहेछन् । सोही विषयमा हाम्रा सहकर्मी विमल योगीले श्रममन्त्री फरमुल्लाह मन्सुरसँग गरेको कुराकानी :

कतारको राजनीतिक संकटले नेपाली रोजगारीमा कुनै असर परेको छ ?

त्यस्तो कुनै असर परेको छैन । पहिलो जस्तो रुपमा हाम्रा नेपाली श्रमिकहरू हुनुहुन्थ्यो अहिले पनि त्यही अवस्थामा हुनुहुन्छ । बाहिर आए जस्तो कुराहरू केही भएको छैन । हामी प्रत्येक दिन कतारका लागि राजदूत र श्रमसहचारीसँग सम्पर्कमा छौं ।

तपाई मन्त्री भएका बेला कतारमा राजनीतिक संकट आयो । यदि आर्थिक मन्दी वा अन्य कुनै संकट भयो भने नेपाल सरकारले कस्तो तयारी गरेको छ ?

कतारमा आएको राजनीतिक संकट र अविश्वासले गर्दा सबैको ध्यान त्यतातिर केन्द्रित भएको हो । कतारको अवस्थाप्रति श्रम मन्त्रालय सम्बेदनशील छ । त्यहाँको वस्तुस्थिति के छ ? भन्ने कुरामा जानकार छौं । कथंकदाचित कुनै संकट आइहाल्यो भने कतारमा रहेका हाम्रा नेपाली नागरिक जो श्रम गरिरहनु भएको छ उहाँहरूलाई सकुशल स्वेश फिर्ता गराउन सक्षम छौँ । आत्तिनु पर्ने अवस्था छैन ।

कतारमा कति नेपाली श्रमिकहरू छन् ? श्रम मन्त्रालयसँग तथ्यांक छ ?

छ नि, कतारमा ४ लाख १८ हजार नेपाली श्रमिकहरू हुनुहुन्छ ।

कतारका विषयमा सरकारले अरु के–के तयारी गरेको छ ? 

कतारको वित्तीय प्रभाव के छ ?  तत्काल र दीघकालीन असरहरू के हुन सक्छ ? भन्ने कुरा हामीले सूक्ष्म रुपमा हेरिरहेका छौँ । परराष्ट्र मन्त्रालयसँग पनि सो विषयमा समन्वय गरिरहेका छौँ । कतारमा रहेका नेपाली एम्बेसीसँग कुरा भइरहेको छ । दूतावासमा श्रम मन्त्रालयको सहचारीहरू छन् । ती सहचारीहरूसँग नेपाली श्रमिकहरूको मनोवैज्ञानिक अवस्था के छ ? भनेर बुझेका छौं । समस्या आइहाल्यो भने खाद्यान्नदेखि रोजगारीहरू गुम्ने अवस्था र त्यसपछि के गर्न सकिन्छ भन्नेबारेमा पनि हामीले तयारी गरिरहेका छौं । कतारमा समस्या भयो भने त्यसको सामना गर्न तयार छौँ ।

कतारका राजदूतसँग पनि कुरा गर्नु भएको छ ?

गरेको छु । नेपालका लागि कतारी राजदूतसँग मेरो कुरा भएको छ । उहाँले कतारमा बाहिर आएका हल्ला जस्तो केही छैन भन्नु भएको छ । नेपालीहरू मात्रै होइन अरु मुलुकका श्रमिकहरूले पनि डराउनु पर्ने अवस्था छैन भनेर भन्नु भएको छ । मैले कतारी राजदूतसँग नेपाली श्रमिकहरूको सुरक्षा र रोजगारीका विषयमा चिन्ता जनाएको थिएँ । उहाँले नेपाली श्रमिकहरूलाई कुनै समस्या नआउने आश्वासन दिनु भएको छ । कतारी राजदूतले स्थिति बाहिर नगएको र सबै कतार सरकारको नियन्त्रणमा रहेको बताउनु भएको छ ।

कतारबाट नेपाल भित्रिने रेमिट्यान्समा कुनै समस्या आएको छ कि छैन ?

मैले पहिला पनि भनि सकेको छु । कतारमा नेपाली श्रमिकहरूलाई कुनै किसिमको अप्ठ्यारो छैन । आउने दिनमा समस्या हुँदैन भन्ने कुरा त्यहाँको सरकारबाट जवाफ पाएको छु । रह्यो कुरा रेमिट्यान्सको । रेमिट्यन्समा कुनै गिरावट भएको छैन । पहिला जुन परिस्थितिमा थियो अहिले पनि त्यही अवस्थामा छ ।

कतारमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको संख्या ह्वात्तै घट्यो रे नि त ?

सञ्चारमाध्यममा आउने समाचारका कारण कतारका लागि श्रम स्वीकृति लिनेको संख्या घटेको पक्कै हो । तर, कतारमा रोजगारीका लागि जादै नजाने भन्ने कुरा भएको छैन । कतार जान चाहनेका लागि पहिला जस्तो थियो अहिले पनि उस्तै छ । डराउनु पर्दैन ।

श्रम मन्त्रालयमा तपाईको भावी कार्ययोजना के छ ?

नेपालबाट वैदेशिक रोजगारीमा जाने सम्पूर्ण श्रमिकहरूको सुरक्षाको जिम्मेवारी लिने र सम्मानजनक अवस्थामा रोजगारी गर्ने व्यवस्था मिलाउन पहल गर्नेछु । काम पनि सुरु गरिसकेको छु । रोजगारीमा जाने नेपाली श्रमिकहरू त्यो मुलुक र नेपालबीच भएको श्रम सम्झौताको सुविधा अनुसार अबसरहरू प्रदान होस् भन्ने पक्षमा म लागेको छ । कतै कमीकमजोरी भयो भने त्यसलाई कुटनीतिक माध्यमबाट सुधार गरेर नेपाली श्रमिकका पक्षमा निर्णय गराउनेछु । मेरो मन्त्रालय अन्तर्गतका कार्यालय र विभागहरूलाई चुस्तदुरुस्त राख्न निर्देशन दिएको छ । ढिलासुस्ती हटाउनेछु ।

श्रम मन्त्रालय अन्तर्गतको श्रम विभाग र श्रम कार्यालयमा अत्याधिक अनियमितता र भ्रष्टाचार हुन्छ भन्छन् । त्यसलाई रोक्न तपाईको भूमिका कस्तो रहन्छ ?

मेरो राजनीतिक जीवन जनतालाई केन्द्रमा राखेर गर्दै आएको छु । कांग्रेसको सदस्यता लिएर सक्रिय राजनीति गरेको ४५ वर्ष भइसक्यो । मेरो आर्थिक र राजनीतिक इमान्दारिताका कारण म यो ठाउँमा आएको हुँ । म सरल परिवारको व्यक्ति हुँ । त्यसकारण मेरो मन्त्रालयको जिम्मेवारी भनेको आर्थिक पारदर्शीता, इमान्दारिता कसरी बनाउने भन्ने रहन्छ । पारदर्शीता कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनेछु ।

जनतालाई कसरी सर्वसुलभ रुपमा सेवा दिन सकिन्छ त्यसमै केन्द्रित छु । मेरो पहिलो उदेश्य भनेको अनियमितता छ भने समाप्त गर्ने हो । मेरो सरल र सहज जीवनबाट मन्त्रालयका कर्मचारीहरू र साथीहरू अवगत भइसक्नु भएको छ । गलत मनसाय भएका केही कर्मचारी वा व्यक्तिहरू छन् भने उहाँहरूले मेरो कुरामा पक्कै ध्यान दिनु हुनेछ । मन्त्रालय, विभाग र श्रम कार्यालयहरूमा गलत काम हुँदैन भन्ने कुरा अवगत गराउन चाहन्छु ।

खाडी मुलुकहरूमा मात्रै रोजगारीका लागि नेपाली श्रमिक पठाउनु हुन्छ ? या अरु मुलुकमा पनि रोजगारीका लागि पठाउने योजना राख्नु भएको छ ?

नेपालसँग दैत्यसम्बन्ध रहेका र श्रम सम्झौता भएका मुलुकमा अहिले अदक्ष जनशक्ति गएका छन् । जहाँ गए पनि अब दक्ष जनशक्ति पठाउने सोँच राखेको छु । गृहकार्य गर्न निर्देशन दिइसकेको छु । खाडी मुलुक मात्रै होइन अरु मुलुकहरूसँग पनि दक्ष कामदार पठाउने कुराकानी भइरहेका छन् । त्यसको रिजल्ट छिटै आउँछ ।

दक्ष जनशक्ति भनेको के हो ?

साधारण रोजगारी जस्तो कि लेबर, इट्टा, माटो बोक्ने वा सरसफाइमा मात्रै होइन । अब रोजगारीका लागि श्रम सिकेका वा डाक्टर, इञ्जिनियर, नर्स आदिलाई पनि सम्मानजनक अबसरका साथ पठाउने योजना बनाइ रहेको छु । हालै मैले यस विषयमा नेपालका लागि इजरायलका राजदूत र कतारी राजदूतसँग कुराकानी गरेको छु । उहाँहरू मेरो प्रस्तावमा सकारात्मक हुनुहुन्छ । नेपाली कामजारहरू कुनै पनि सुरक्षित मुलुकमा श्रमका लागि जान सक्नु हुनेछ । तर, नेपाल सरकारसँग श्रम सम्झौता भएका देशमा मात्रै व्यवस्थित रुपमा पठाइनेछ । अब सेवा विस्तार हुनेछ ।