हेटौँडा, ८ असार । मध्यक्षेत्रका जिल्लाहरुबाट तस्करीको लाईन खोलिएको तथ्य सार्वजनिक भएपछि मध्य क्षेत्रका प्रहरी प्रमुख डिआईजी गणेश केसीले विभिन्न जिल्लामा बद्नाम घुमुवा प्रहरीहरुलाई हटाए पनि तस्करी भने रोकिएको छैन ।
पर्साका एसपी गोविन्द साहले प्रहरी निरीक्षक उमाशंकर यादवको नेतृत्वमा गठन गरेको घुमुवा टोलीले तस्करी नियन्त्रण गर्नु भन्दा बढाएको भन्दै डिआईजी गणेश केसीले गत साता हटाएका थिए । यो टोलीले तस्करहरुसँग रकम असुलेर हाकिम कहाँ पु-याउने जिम्मा लिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पर्सा जिल्लाको भिखमपुर, सेढवा, भिस्वा, श्रीसिया, भकुवा, इनर्वा नाका अहिले पनि तस्करहरुको लागि खुल्ला गरिएको छ । वीरगञ्जबाट हरिन्द्र पटेल साझा ट्रान्सपोर्ट, हरदेव यादव र रुञ्चे मदनले महाशक्ति ट्रान्सपोर्ट मार्फत कपडा काठमाडौं, चितवनको बज्रङ्गली ट्रान्सपोर्ट र पोखरासम्म पठाउने गरेका छन् ।
वीरगञ्जबाट मुन्ना शम्भु प्रसाद, मुन्ना मियाँले पनि छुट्टै तस्करीको ‘लाईन’ खोलाउँदा समेत डिआईजी केसी कानमा तेल हालेर बसेका छन् । भिस्वा र जानकीटोला नाकाबाट भारतीय छड, सिमेन्ट र मिठा भित्रिदैछ भने यताबाट काठ र गिटीको अवैध निकासी भइरहेको छ ।
बद्नाम घुमुवा प्रहरी हटाइए पनि बाराको मटिअर्वा, बरैनिया, छतवा, कचोर्वा र मुसहरवा नाका अहिले खुल्ला भएको छ । फुलेना साह, सोनालाल साह, छेना यादवलाई कपडाको, उपेन्द्र तुरहा, मुकेश साह तुरहालाई सुर्ती खैनी र रजनीगन्धा गुटखाको, मुन्ना कुशवाहालाई हार्डवेयर र बिनोद साह कलवारलाई इलेक्ट्रोनिक्स समान भित्र्याउन प्रहरीले नै भित्रभित्रै अनुमति दिएको छ ।
तस्करीको नेटवर्क ध्वस्त पार्न र बद्नाम घुमुवा प्रहरीहरुको असुली नियन्त्रणका लागि प्रहरी निरिक्षक रामकाजी थापाको नेतृत्वमा टोली समेत गठन भएको थियो । तर, तस्करी नियन्त्रण गर्न गठन गरिएको टोलीका प्रमुख इन्सपेक्टर थापाले नै तस्करहरुसँग हात मिलाउँदा तस्करी झन मौलाएको छ ।
केही घुमुवा प्रहरीहरुबाट उनले मोटो रकम रकम हात पारिसकेका छन् भने रकम नदिनेहरु विरुद्ध डिआईजीकहाँ झुटो आरोप लगाई फसाउने गरेको एक पीडित प्रहरी जवानले बताए । दिनहुँजसो घुमुवाहरुबाट नै पैसा असुल्दै आएका थापालाई यस अघिका डिआईजी पशुपति उपाध्यायले पेण्डिङमा राखेका थिए । तर, हालका डिआईजी केसीले उनलाई नै सम्पूर्ण जिम्मेवारी दिएपछि क्षेत्रका प्रहरी अधिकारीहरु रुष्ट बनेका छन् ।
डिआइजी केसी आएको दुई हप्ता तस्करी रोकिएपनि अहिले लाइन दिएर तस्करी भइरहेको छ । यसमा प्रहरी, राजस्व र भन्सारका कर्मचारीको पनि मिलेमतो रहेको । अझ पछिल्लो समयमा त उक्त नाकाबाट अबैध रक्तचन्दन काठमाडौं भित्रिन थालेको प्रहरी स्रोतको दावी छ ।
डिआईजी केसीले नाटकिय रुपमा मातहतका जिल्ला प्रमुखलाई लिखित रुपमा बद्नाम प्रहरीलाई कारबाही गर्न निर्देशन दिएपनि आफ्नै कार्यालयमा रहेका भ्रष्ट इन्सपेक्टर थापालाई भने केही गरेका छैनन् ।












प्रतिक्रिया