चितवन । चितवन निर्वाचन क्षेत्र नं. ४ बाट विजयी भएर प्रधानमन्त्री बनेपछि पहिलोपटक चितवन आउनुभएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका काँग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्नुभएको छ ।
नारायणगढस्थित आफू बसेको होटल सेन्ट्रलपार्कमा नेपाली काँग्रेसको क्षेत्रीय समितिको समन्वयमा स्थानीय नेता तथा कार्यकर्तासँग शनिबार साँझ अबेरसम्म र आइतबार बिहान सबेरैदेखि उहाँले भेट गर्नुभएको हो ।
भेटमा प्रधानमन्त्री कोइरालाले निर्वाचनका समयमा काँग्रेसले दिएका आश्वासन पूरा गराउने कुरामा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । भेटमा सहभागी नेपाली काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार सो अवसरमा निर्वाचनको समीक्षा पनि गरिएको थियो ।
त्यसैगरी आगामी असार ८ गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको विषयमा पनि सो क्षेत्रका नेता तथा कार्यकर्ताको रायसमेत सभापति कोइरालाले लिनुभएको सचिव श्रेष्ठले बताउनुभयो । सभापति कोइरालाले जिल्ला, क्षेत्र र स्थानीय तहका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ ।
सो क्रममा चितवनको विकास निर्माणका विषयमा समेत नेपाली काँग्रेस चितवनले सभापति कोइरालालाई जानकारी गराएको छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने समयमा कोइरालाको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँले सम्भावित उम्मेदवारका विषयमा पनि छलफल गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आइतबारै माडीस्थित गर्दी–१ अमिलियका बाढीपीडित सुकुमवासीसँग भेटाघाट गर्दै हुनुहुन्छ ।
नेपाल निजामती कर्मचारी युनियनको आजदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु हुने छैटौंराष्ट्रिय महाधिवेशनको उद्घाटनपछि प्रधानमन्त्री कोइराला आजै काठमाडौं फर्किने कार्यक्रम छ । उहाँ शनिबार दिउँसो चितवन आउनुभएको हो ।
















प्रतिक्रिया