काठमाडौं, २८ जेठ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको साझा संगठन इफाप्का (International Federation of Asian and Western Pacific Contractors’ Association) को उपाध्यक्ष निर्वाचित हुनु भएको छ ।
दक्षिण कोरियाको राजधानी सउलमा सम्पन्न इफाप्काको ४३ औं बैठकले गौचनलाई निर्विरोध उपाध्यक्ष निर्वाचित गरेको हो । उपाध्यक्षमा निर्वाचित भएपछि गौचनले इफाप्कालाई अझ सशक्त संगठन बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता जनाउनु भएको छ । इफाप्कामा आफनो प्रतिनिधित्वबाट सिंगो महासंघको गरीमा उच्च भएको प्रतिक्रिया समेत गौचनले दिनुभयो । महासंघका उपाध्यक्ष निकोलास पाण्डे पनि इफाप्का कार्य समिति सदस्य निर्वाचित हुनु भएको छ । गौचन र पाण्डेको कार्यकाल सन् २०१८ नोभेम्बरमा सकिनेछ ।
एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्दै निर्माण उद्योगमा आपसी सहकार्य गर्ने उद्देश्य सहित सन् १९५६ मा इफाप्का गठन भएको हो । हाल १८ राष्ट्रका निर्माण व्यवसायीहरु आबद्ध इफाप्काको मुख्यालय भने फिलपिन्सको राजधानी मनिलामा रहेको छ ।
इफाप्काको ४३ औं बैठकमा नेपाली निर्माण व्यवसायी महासंघको तर्फबाट महासंघ अध्यक्ष गौचनको नेतृत्वको टोलीको सहभागिता रहेको थियो । नेपाली टोलीले सउल र बुसान शहरको भ्रमण गरी भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा दक्षिण कारियाले छोटो अवधिमा हासिल गरेको अभूतपूर्व विकासको स्थलगत निरीक्षण समेत गरेको थियो । साथै दक्षिण कोरियाका लागि नेपालका कार्यवाहक राजदूत किरण शाक्य र नेपाली टोलीबीच भेटघाट पनि भएको थियो ।
















प्रतिक्रिया