भैरहवा, २६ जेठ । राप्रपाका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले ठेक्का सम्झौता गरी निर्माण कार्य थालेको बुद्धचौंक सडकखण्ड अहिले अलपत्र परेको छ ।
राष्ट्रिय गौरबको आयोजना बेलहिया बुटवल व्यापारिक मार्गअन्र्तगतको सो सडकखण्ड २०७३ असार ३१ मा सम्पन्न गर्ने गरी सांसद समेत रहेका पाण्डेको निर्माण कम्पनीले ठेक्का लिएको थियो । तर अहिले एक वर्ष वितिसक्दा समेत निर्माण कार्यको प्रगति सन्तोषजनक देखिएको छैन ।
बेलहिया–बुटवल व्यापारिक मार्ग अन्तर्गतको उक्त सडक निर्माणको ठेक्का कालिका तामाङ प्यासेफीकले लिएको थियो । २०७२ असार १ (१६ जुन २०१४ ) मा कालिकाले २०७३ असार ३१ (१५ जुलाई २०१६) भित्र निर्माण सम्पन्न गर्नेगरी ४५ करोड ६४ लाख १ हजार ४ सय ८६ रुपैयामा ठेक्का सम्झौता गरेको थियो ।
ठेकेदार कम्पनीले डण्डामा ४० मिटर लम्बाइ र १० मिटर चौडाइको पक्की पुल, डण्डा पुलदेखि सीता नर्सरीसम्म ७ सय मिटर बाटो र ब्रमेलीटोलदेखि अन्चलपुरसम्म १४ सय मिटर बाटो निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।
अहिले सम्झौता अनुसारको समय सकिएको एक वर्ष वितेको छ । कामको प्रगति भने फाइनान्सीयल हिसाबले ५२ प्रतिशत र भौतिक हिसाबले ६० प्रतिशत मात्रै भएको सो साइट हेर्ने बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताए ।
पछिल्लो समयमा ठेकेदार कम्पनीले २०७४ साउन १९ गते निर्माण सम्पन्न गर्ने गरी आयोजनासंग म्याद थप गरेको थियो । सो म्याद पनि आउन अब करिब २ महिना छँदासम्म कामले तीब्रता नपाउँदा आयोजनाको काम नै प्रभावित भएको छ ।
















प्रतिक्रिया