काठमाडौं, २३ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैको दवावमा आफूले राजीनमा नदिएको बताएका छन् ।
उनले आफूले चाहेको भए कांग्रेसले दुबै स्थानीय तहको चुनाव गर्न दिन तयार रहेको बताए । संसदको आजको बैठकमा सम्बोधन गर्दै दाहालले सहमति र सहकार्यका लागि इमानदारिताका साथ राजीनामा दिएको बताए ।
राजीनामा किन दिनु प-यो भन्ने एमाले अध्यक्ष केपी ओलीको प्रश्नको जवाफ दिँदै दाहालले भने, ‘स्थानीय तहको चुनाव चैत मसान्तभित्र गर्नुपर्ने पूर्व सहमति थियो । लुकेको कुरा होइन । चैतमा चुनाव गर्न नसकिएपछि समय तानिएको हो । मलाई स्थानीय तहको चुनाव गर्नका लागि नेपाली कांग्रेसका साथीहरूलाई मलाई सहयोग गर्नु भएको हो ।’
प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहमतिअनुसार नै मैले पदबाट राजीनामा दिएर सहज रुपमा सत्ताहस्तान्तरण गरेको बताए ।
कांग्रेस वा सभापति शेरबहादुर देउवाले दवाव दिएर आफूले राजीनामा नदिएको दाहालले बताएका छन् । ‘मैले स्थानीय तहको चुनाव गर्छु भनेको भए कांग्रेस वा शेरबहादुर देउवाजीले नछोड्ने कुरै थिएन’, दाहालले भने, ‘दुबै चुनाव गर्दा धेरै समय लामो हुन्छ भन्ने भएपछि मैले आफैले शेरबहादुर देउवाजीलाई बोलाएर पहिलो चरणको चुनाव सक्किएपछि राजीनामा दिन्छु भनेको थिएँ । कांग्रेससँग संस्थागत रुपमा सहमति पनि भएको थिएन ।’
आफूले दिएको राजीनामाले राजनीतिक सहमतिको संस्कार स्थापित गर्ने उनले बताए । प्रतिपक्ष दलका नेता केपी ओलीले इमानको कुरा उठाएको प्रति जवाफ दिँदै दाहालले भने, ‘इमान व्यवहार देखाउने हो । भन्ने कुरा होइन ।’
निर्वाचन आयोगको कुरा संसदमा ल्याएर मिसाउन नहुने प्रधानमन्त्री दाहालले बताए । ‘निर्वाचन आयोगको कुरा संसदमा ल्याएर किन अबरोध गर्नुभयो ?’, दाहालले प्रश्न गर्दै भने, ‘महाभियोगको प्रस्ताव फिर्ताको कुरा र निर्वाचन आयोगको कुराले अबरोध किन गरियो तपाई एमालेले जवाफ दिनुपर्छ ।’
मतपत्र च्यातिएको कुरा गलत रहको बताएका दाहालले भने, ‘भरतपुर घटनामा मतपत्र च्यातिएको कुरा आएपछि निर्वाचन आयोगलाई बोलाएर कानूनअनुसार जे सही छ त्यही गर्न भनेको थिएँ ।’
रेणु दाहाललाई देवी ज्ञवालीसँगको मतअन्तर झण्डै चार हजारले हुँदा फोन गरेर जिते पनि हारे पनि राष्ट्रिय छवि बनायौ भनेको दाहालले बताए ।
‘तपाईलाई भन्न त के लाज भयो र ?’, दाहालले भने, ‘लाज त अरुलाई हुने भयो नि । रेणु मेरो छोरी पनि हुन् तर, जे घटना भयो त्यो गलत भएको छ भनेर पटक पटक भनेको छु ।’ दाहालले भने, ‘ओलीजी तपाईले के–के भयो भनेर भन्नुभयो । यति भनि सकेपछि भन्नुस् । अब के भन्न बाँकी छ र ? म सामना गर्न तयार छु । भरतपुरको घटना यति धेरै उठेपछि त्यहाँ निष्पक्ष हुन्छ अब ।’
एमालेका नेताहरूलाई संघीयता र समावेशिताका कुरा मन नपरेको खुलासा गरेका प्रधानमन्त्री दाहालले भने, ‘संघीयताका विषयमा एमाले कहिल्यै सुन्न नचाहको अवस्थामा रहेका थिए ।’
संसदमा रहेको संविधान संशोधनको विधेयकलाई सबैलाई स्वीकार हुने गरेर ल्याइएको बताएका छन् ।
प्रतिपक्ष दलका नेताले एउटा घटनालाई देखाएर एमालेले राम्रो नगरेको उनले बताए । ‘ओलीजीले सबै मेले गरेको भन्नुभयो । मैले सबै ठिक्क पारेको थिएँ । टुटी खोलेर खाएको भन्नुभयो,’ उनले भने, ‘सबै ओलीजीले गरेको भए अरुले केही गरेनन् त ?’
दाहालले संशोधन विधेयकलाई पारित गरेर संविधान कार्यान्वयनमा लैजानु पर्ने बताए । ‘प्रमुख विपक्षी दल एमालेका नेताले स्थानीय तहको चुनावपछि संविधान संशोधन गर्नुपर्ने भन्नुभएको छ । सकारात्मक कुरा छ ।’
राष्ट्रिय हितमा लचकता आवश्यक रहेको बताएका दाहालले भने, ‘मेरा गोरुका बाह्रै टक्का कसैले भन्नु हुँदैन ।’ आफूले धेरै अफ्ठ्याराहरूसँग जुधेर स्थानीय तहको चुनाव गरेको बताएका दाहालले भने, ‘अहिले मैले तिक्तताको पोको खोल्न चाहँदैन ।’












प्रतिक्रिया