९ मंसिर २०८३, बुधबार

ओली बोल्दै गए, संसदमा हाँसो छुट्दै गयो

58.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी 

काठमाडौँ, २३ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओली संसदमा निकै तयारीका साथ उपस्थित देखिए ।

संसदको रोष्टममा उभिएर उनले एमालेमाथि लागेका अनेक आरोपको प्रष्टीकरण दिनेदेखि काँग्रेस र माओवादीमाथि अनेक प्रश्न गरे । अध्यक्ष ओलीले एमालेमाथि लागेको हरेक आरोपको जबाफ र प्रष्टीकरण दिँदै काँग्रेस र माओवादीमाथि प्रश्न थुपारिरहँदा संसदमा हाँसोको फोहोरा छुटेको थियो । अध्यक्ष ओलीले सबैभन्दा बढी समय भरतपुरमा मतपत्र च्यातिएको घटना र एमालेमाथि लागेको मधेशविरोधी आरोपमा खर्चिए ।

भरतपुर घटनाका सन्दर्भमा उनले भने, सत्तापक्ष हार्नै नचाहने स्थिति देखिएको छ । प्रचण्डतिर प्रश्न तेर्साउँदै उनले भने
– ‘को–कोलाई हराउन नपाइने हो ? कसलाई हराउन नहुने हो ? प्रतिपक्ष दलले जान्न पाए हुने त्यही अनुसार माइन्ड मेकअप बनाउँथ्यौँ ।’

भरतपुर महानगरपालिकाको वडा १९ को मतगणना एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ७८४ मतको अग्रता कायम गरेको बेला ठूलो षड्यन्त्र भएको उनले बताए । ‘देवी ज्ञवालीले जित्ने अवस्था आउँदै गर्दा मेयर पदको उम्मेदवार रेणु दाहालका प्रतिनिधिले उफ्रिएर गएर मतपत्र च्याते । प्रहरी तत्काल नियन्त्रणमा लियो । मतगणना तत्काल सुचारु गर्नु पथ्र्यो । बरु पुनः मतदान गराउने त्यस प्रकारका कार्य भए । त्यसले नभएको स्थिति उत्पन्न भयो’, उनले भने । प्रहरीको रिपोर्टअनुसार मतदान स्थल कब्जा नभएको बताउँदै ओलीले केही मतपत्र मात्रै च्यातिएको दाबी गरे ।

४६२ स्थानीय तहको निर्वाचन गर्न बाँकी रहेको बताएका ओलीले निर्वाचनलाई धाँधली रहित बनाउनुपर्ने बताए । अध्यक्ष ओलीले भने, ‘चुनाव गर्न नसकेर हो कि ? प्रधानमन्त्रीले बीच बाटोमा राजीनामा दिने अवस्था किन आयो ? उहाँलाई छाड्न हतारो हो कि ? अरुलाई आउन हतारो हो ? हामीले नयाँ प्रधानमन्त्रीको छनौट गर्नुपर्छ ।’

सत्तापक्षको अहमताका कारण संसद चल्न नसकेको बताए । उनले आजदेखि नयाँ सिराबाट संसद बैठक सुचारु भएको बताए । सत्तापक्षबाट हत्या, हिंसा, धाँधली, मतपत्र च्यात्ने, निर्वाचनलाई अस्वस्थ्य बनाउने जुन कुरा भएको छ त्यो रोकिनुपर्ने ओलीले बताए । उनले भने, ‘संसदीय छानविन समितिले भरतपुरसहित धाँधली भएका स्थानको छानविन गरेर तोकिएको समयभित्र प्रतिवेदन बुझाउनु पर्छ ।’

राजीनामा दिएको सरकारले नीति तथा कार्यक्रम र बजेट आएको प्रसंग कोट्याएका ओलीले भने, ‘१५ गते बजेट आउनु थियो । १६ गते राजीनामा दिएको भए पनि हुन्थ्यो ।’ उनले बजेटलाई ‘कर्मकाण्डी’ रहेको आरोप लगाए । एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पेन्सनपट्टा बनाउने कार्यमा अर्थ मन्त्रालयले अस्वीकार गरेर अपमान गरेको बताए । अध्यक्ष ओलीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउँदा नबोल्ने काँग्रेस प्रधानन्यायाधिशलाई महाअभियोग लगाउन कस्सिनुको कारण सोधे ।

काँग्रेस छाडेर नै अहिले धेरै मधेश पार्टी खुलेको भन्दै एमाले अध्यक्ष ओलीले भने ‘काँग्रेस सरकारको बेलामा मधेशसँग सम्झौता गर्ने अनि दोष चाँहि एमालेलाई दिने ?’ सरकारले पदवी वितरणमा पनि मधेशलाई अपहेलना गरेको ओलीले बताए ।

गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर, विजय गच्छदार, शरदसिंह भण्डारी लगायतले काँग्रेसले भेदभाव गरेको भन्दै पार्टी छाडेर मधेशी दल खोलेको प्रसंग उठाउँदै ओलीले त्यो हावाले महेन्द्र यादव लगायतका केही नेताले पनि एमाले छाडेको बताए । ‘काँग्रेसले भेदभाव गर्यो भनेर पार्टी छाड्ने, अनि दोष चाँहि एमालेलाई दिने ?’ – ओलीले भने