९ मंसिर २०८३, बुधबार

देउवा आज यसरी हुँदैछन् ४०औँ प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आज ४०औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुने भएका छन् ।

आज बस्ने संसदको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गर्नेछ । पहिलो बैठकमा विभिन्न सूचनाहरू पढेर सुनाउनुका साथै प्रमुख तीन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

त्यसपछि बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम सुरु हुनेछ । प्रधानमन्त्री पदमा देउवाको मात्रै उम्मेदवारी परेको छ । सोही कारण सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का देखिएको हो ।

सभापति देउवा कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र अन्य साना दलको समर्थनमा प्रधानमन्त्री चयन हुने निश्चित भएको छ ।

यी सबै दलको गरेर देवाका पक्षमा ३ सय ९२ मत हुने देखिएको छ । हाल संसदमा ५ सय ९३ जना सदस्य छन् । प्रधानमन्त्रीमा निर्वाचित हुन पक्षमा बहुमत सांसद चाहिन्छ ।

२ सय ९७ सांसदले प्रधानमन्त्री निर्वाचित गरियोस् भनी सदनमा प्रस्तुत गरेको नाममा समर्थन जनाएमा निर्वाचित भएको मानिनेछ ।

देउवाका पक्षमा हालसम्मको आँकडा हेर्दा ९५ सांसद अधिक रहेको देखिन्छ ।

देउवाको विपक्षमा एमाले, माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, मधेस समता पार्टी, बहुजन समाजवादी पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा छन् ।

कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुने भनिएको छ ।