९ मंसिर २०८३, बुधबार

‘भरतपुरले प्रचण्डलाई गिज्यायो, काँग्रेसी नेता-कार्यकर्तालाई झन् लाज’

65.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णय फिर्ता लिन बिभिन्न पेशाकर्मीहरुले दबाब दिएका छन् ।

बिभिन्न पेशामा आबद्ध पेशाकर्मी तथा विज्ञहरुले सोमबार जारी गरेको विज्ञप्तिमा फेरि निर्वाचन गर्ने निर्णय फिर्ता लिएर भरतपुरको मतगणना कार्यलाई यथाशिघ्र शुरु गराई नागरिकको अमूल्य मत र व्यबस्थाको जितको सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग अपिल गरेका हुन् । भरतपुर घटनाले स्वयम प्रधानमन्त्रीलाई गिज्जाउनुका साथै काँग्रेसी नेता कार्यकर्ताहरुलाई समेत लज्जाबोध भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘भरतपुरमा जसरी प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन जुन कुत्सित षडयन्त्र गरियो, यसले स्वयम् प्रधानमन्त्रीज्यूलाई नै गिज्याइरहेको छ ।’, विज्ञप्तिमा भनिएको छ- ‘मतपत्र च्यात्ने माओवादी केन्द्रको अलोकतान्त्रिक, षडयन्त्रमूलक र अपराधिक कर्मलाइ समर्थन गर्नुले आम सचेत नागरिकलाई मात्र होइन, स्वयम् कांग्रेसकै नेता, कार्यकर्ताहरुलाई लज्जावोध भैरहेको यथार्थ स्थिति छ ।’

हेर्नुस विज्ञप्तिको पूर्णपाठ

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना अन्तिम चरणमा पुग्दैगर्दा गत जेठ १४ गते राति करिब ११ः५० बजे दुर्भाग्यपूर्ण तरिकाले माओवादी केन्द्रका द्रोण शिवाकोटी र मधु न्यौपाने लगायतका प्रतिनिधिहरुले ९० मतपत्र च्यातेको घटना राष्ट्रिय लज्जाको बिषय बनेको छ, लोकतान्त्रिक पद्दतिमा जनताको अभिमतको सम्मान गर्नुपर्ने राजनीतिक दलहरुले जनताकै अमूल्य मत च्यात्नु नागरिकको मत र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर प्रहार हो ।

लोकतान्त्रिक व्यवस्थामा जनताको अभिमत पाएर जुनसुकै नागरिक पनि विजयी हुन सक्छ, एउटा सामान्य नागरिकले शक्तिशाली र शक्तिकेन्द्रका मानिसहरुलाई पनि हराउन सक्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो
। तर भरतपुरमा जसरी प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन जुन कुत्सित षडयन्त्र गरियो, यसले स्वयम् प्रधानमन्त्रीज्यूलाई नै गिज्याइरहेको छ ।

नेपालको सवैभन्दा पुरानो प्रजातान्त्रिक दल र इतिहासमा कैयौंपटक आन्दोलन गरेको पार्टी नेपाली कांग्रेसले समेत् उक्त मतपत्र च्यात्ने माओवादी केन्द्रको अलोकतान्त्रिक, षडयन्त्रमूलक र अपराधिक कर्मलाइ समर्थन गर्नुले आम सचेत नागरिकलाई मात्र होइन, स्वयम् कांग्रेसकै नेता, कार्यकर्ताहरुलाई लज्जावोध भैरहेको यथार्थ स्थिति छ ।

अधिकारवादी संस्थाहरु र मानवअधिकारकर्मीहरुको प्रतिवेदन, चितवनका एस।पी। दिपक थापाको यथार्थ बयान, मतदाताहरुको ब्यापक दबाब र खराब नजिर बस्ने खतराका बावजुद पनि निर्वाचन आयोगले अपराधीहरुलाई पुरष्कृत गर्ने र आम मतदातालाई दण्ड दिनेगरी पुनः मतदानको निर्णय गर्नु दुर्भाग्यपूर्ण र खेदजनक नै हो । कुनै ब्यक्तिको हार-जित तपसिलको बिषय हो तर आयोगको खराब निर्णयले निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण र धाँधलिरहीत निर्वाचन सम्पन्न गर्ने आयोगकै आगामी जिम्मेवारी, कर्तव्य र दायित्वमाथि ब्यापक सङ्कट पैदा हुनेछ ।

बालुवाटार र सिंहदरबारका प्रिय सुपुत्री/सुपुत्रहरुले हार्न सक्छन् तर व्यवस्थाले जित्नुपर्छ, कानुनका ब्याख्याताहरुले हार्न सक्छन् तर न्यायले जित्नुपर्छ, निर्णय गर्नेहरुले आफू हारेर भएनि न्याय पार्नुपर्छ। शक्ति र सत्ताले हार्न सक्छ तर राष्ट्र र जनताले जित्नुपर्छ, भरतपुरको एउटा वडाको कारण सिंगो देशको राजनीति प्रभावित हुनुहुँदैन, दबाब र बाध्यतामा परेर निर्वाचन आयोगले गर्नुपरेको दुषित निर्णयको कारण सधैं देशले हारिरहने छ र अपराधकर्मले जितिरहने स्थिति आउनेछ, यस्तो अवस्था आउन नदिनका लागि राष्ट्रलाइ माया गर्ने चेतनशील बौध्दिक वर्ग, पत्रकारहरु, सत्तागठवन्धन पार्टीहरु र सरकारले समेत् पहल गरी उक्त निर्णय फिर्ता लिन लगाएर भरतपुरको मतगणना कार्यलाई यथाशिघ्र शुरु गराई नागरिकको अमूल्य मत र व्यबस्थाको जितको सुनिश्चित गर्न हामी नागरिकको तर्फबाट सरकार र निर्वाचन आयोगसँग जोडदार अपिल गर्दछौं ।

१ आनन्दराम पौडेल, लेखक, विश्लेषक
२ हिरण्यलाल श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिविज्ञ
३ डा द्वारिकानाथ ढुंगेल, पूर्वसचिव, नागरिक अभियन्ता
४ रतन भण्डारी, सीमा र जलश्रोतका रिसर्च स्कलर
५ डा युवराज सङ्ग्रौला, कानुनविद, राष्ट्रियता स्कलर
६ साध्यबहादुर भण्डारी, राष्ट्रवादी अभियन्ता
७ भरत दाहाल, विश्लेषक, राष्ट्रवादी अभियन्ता
८ हरि चन्द “अग्नीपुञ्ज”, अन्तर्राष्ट्रिय सम्वन्धका विज्ञ
९ रत्नसंसार श्रेष्ठ, जलश्रोतविद
१० डा भूवप्रसाद त्रिपाठी, प्रोफेसर
११ पुण्य गौतम ‘विश्वास’, अन्तर्रष्ट्रिय मामलाका विश्लेषक
१२ प्रेम कैदी, वरिष्ठ पत्रकार, राष्ट्रवादी अभियन्ता।
१३ ध्रुवहरि अधिकारी, वरिष्ठ पत्रकार
१४ कमल कोइराला, वरिष्ठ स्तम्भलेखक
१५ डा विष्णुराज उप्रेती, द्वन्द विशेषज्ञ
१६ डा नीलमकुमार शर्मा, प्रोफेसर
१७ रामप्रसाद श्रेष्ठ, कानुनविद, प्राध्यापक
१८ डा अतीन्द्र दाहाल, प्राध्यापक
१९ डा रामप्रसाद उप्रेती, चिकित्सक, प्राध्यापक
२० डा विनोद न्यौपाने, राज्यसंरचनाविद

मितिः २०७४। ०२। २२