
काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीका एक्ला उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवालाई राप्रपाका अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई व्यवस्थापन गर्नु सुरुमै टाउको दुखाईको विषय बन्ने देखिएको छ ।
आइतबारमात्रै देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने बताएका थापा र यादवले एउटै मन्त्रालयमा आँखा लगाएपछि अप्ठेरो अबस्था सिर्जना भएको हो ।
उनीहरु दुवैले आँखा गाडेको मन्त्रालय हो – परराष्ट्र । यो मन्त्रालय आफ्नो पोल्टामा पार्न यी दुवैले हानथाप गरिसकेका छन् । यसो त थापा र यादव दुवैले यसअघि नै उपप्रधान एवम् परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । दुवैले आफ्नो कार्यकालमा राम्रै पर्फमेन्स देखाइसकेका छन् । त्यही भएर पनि यिनीहरुले देउवासँग परराष्ट्र नै चाहिने जिकिर गरिरहेका छन् ।
चार वटा मन्त्रालय पाउने भनिएको राप्रपाले मन्त्री छनोटका लागि कार्यदल बनाएको छ । पुराना मन्त्रीलाई दोर्हाउनुभन्दा पनि नयाँ मन्त्री बन्नुपर्ने दबाब राप्रपा भित्र छ ।
१५ सांसद रहेको संघीय समाजवादी फोरम नेपालले पनि सरकारमा सहभागी हुन आन्तरिक तयारी थालिसकेको छ । अध्यक्ष यादवसहित अन्य दुई जनाको नाममा सहमति जुटाउने प्रयास गरिए पनि हम्मेहम्मे परिरहेको छ ।











प्रतिक्रिया