
काठमाडौँ, २० जेठ । काँग्रेस सभापति शेरबहादुर देउवा निर्विरोध प्रधानमन्त्री भएका छन् ।
प्रधानमन्त्रीको उम्मेदवारी दर्ताका लागि तोकिएको शनिबार अपरान्ह ४ बजेसम्म पनि कसैको उम्मेदवारी नपरेपछि देउवा निर्विरोध बनेका हुन् । देउवाले शनिबार दिउँसो ११ बजेपछि उम्मेदवारी दर्ता गरेका थिए । देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् । यस्तै समर्थकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा संयुक्तका नेता जयदेव जोशी रहेका छन् ।
नेकपा एमालेले भरतपुर घटनालाई लिएर संसद अबरुद्ध पारे पनि सभामुख ओनसरी घर्तीको आदेशमा प्रधानमन्त्री निर्वाचनको तालिका सार्वजनिक गरिएको थियो । जसअनुसार, शनिबार चार बजेसम्म उम्मेदवारी दर्ताको लागि समयावधि तोकिएको थियो । सोही अनुरुप साँढे ४ बजे प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा देउवाको नाममात्रै निस्केको छ ।
प्रधानमन्त्रीमा देउवाको मात्र उम्मेदवारी परे पनि प्रधानमन्त्रीको पक्ष वा विपक्षमा भने आइतबार संसदमा निर्वाचन हुने सभामुखका प्रेस संयोजक बबिन शर्माले दैनिक नेपाललाई जनकारी दिए ।
एमालेले भने संसद अबरुद्ध भइरहेका कारण प्रधानमन्त्री निर्वाचनको कार्यतालिका बारे आफूहरुलाई थाहै नभएको जनाएको छ । संसद अबरुद्ध रहेका कारण उम्मेदवारी पनि दर्ता नगर्ने निर्णय एमाले संसदीय दलले गरेको छ । आइतबार ११ बजे संसदमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ । तर, संसद अबरुद्ध भइरहेका कारण निर्वाच्न हुन नसक्ने एमालेले जनाएको छ ।











प्रतिक्रिया