९ मंसिर २०८३, बुधबार

भरतपुर महानगरको १९ वडामा पुनः मतदान गर्ने आयोगको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना स्थल अनाधिकृत रुपमा कब्जा भएको पुष्टि भएको भन्दै आयोगले वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मत अवैध घोषित गर्दै मतदान रद्द गरेको छ ।

मुख्य निर्वाचन अधिकृतले मतपत्र च्यातिएको र मतगणना स्थल रणभूमितुल्य भएको प्रतिवेदन पठाएको भन्दै आयोगको निर्णयमा भनिएको छ, ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।’

मतदानका लागि नयाँ मिति तोक्न भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ ।

जेठ १४ गते मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । यो घटनापछि मतगणना रोकिएको थियो । निर्वाचन आयोगको निर्देशनपछि सबै उम्मेदवारको रोहबरमा शिलबन्दी खोल्दा ९० मतपत्र च्यातिएको पाइएको छ ।

एमालेले मतगणना सुचारु गर्न माग गर्दै संसद समेत अवरुद्ध पार्दै आएको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले भने वडा नंं १९ मा पुनः मतदान गर्नु पर्ने माग गर्दै आएका थिए ।