३ कार्तिक २०८३, मंगलबार

जब श्वेताले स्टेजमै आँसु झारिन्…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । उपचार नपाएरै पति गोरे माझीले संसार छाडे । कमाउन राजधानी छिरेको जेठो छोरो सात वर्षदेखि जेल जीवन बिताइरहेको छ ।

भूकम्पले बास खेदेपछि टहरामा कष्टकर जीवन धान्दै आएकी झ्याडीखोला र ईन्द्रावती दोभानस्थित माझीगाउँकी सुन्तला माझी, पीडाको पहाडै थेग्दै आएकी मान्छे । पारिवारिक पीडाबीच पुनर्निर्माणको पिरलोमा बाँचिरहेकी उनको जीवनमा भूकम्पको दुई वर्षपछि खुसी फर्किएको छ, यतिबेला ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्द पोखरेल र अभिनेतृ श्वेता खड्काले सोमबार उनको घरको जग हालिदिए । राष्ट्रियस्तरका कलाकारको जम्बो टोलीले घरमा इँटा हालिदिए र उनको जीवनमा ‘खुसीको इँटा’ थपिदिए ।

‘‘दुःखी, गरिबलाई हेर्ने मान्छे पनि हुँदारहेछन्’, श्वेताले भनिन्, ‘बस्ती शिलान्यास भएपछि यतिबेला माझीगाउँमा खुसियाली छाएको छ ।’

नगरपालिकाभित्रै रहेर पनि पिछडिएको यो गाउँलाई श्वेताश्री फाउन्डेसनले देख्यो । अनि, सिंगो गाउँ उठाउने पहल गरी काम नै सुरु गरेको छ ।

श्वेताश्री फाउन्डेसनले चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित ईन्द्रावती नदी किनारमा रहेको माझीगाउँमा एकीकृत बस्ती विकास परियोजना सुरु गरेको हो ।

बस्ती विकास परियोजना शिलान्यासकै दिन झन्डै १० लाख रुपैयाँ रकम श्वेताश्री फाउन्डेसनलाई प्रदान गरिएको छ । विभिन्न संस्था तथा व्यक्तिले माझीगाउँको एकीकृत बस्ती विकासका लागि सहयोग रकम प्रदान गरेका हुन् ।

जब श्वेताले स्टेजमै आँसु झारिन्…

मञ्चअगाडि स्वर्गीय श्रीकृष्णको तस्बिर, छेउमा पन्चेबाजा घन्कँदै थियो, मञ्चमा कलाकार टोली आफ्नै धुनमा थिए । प्राधिकरणका प्रमुख कर्यकारी अधिकृत पोखरेल र पूर्वप्रधानसेनापति कटवाल आपसमा गफिँदै थिए ।

जब औपचारिक कार्यक्रम समापन गर्न भनेर सञ्चालक नरेश भट्टराईले श्वेतालाई स्टेजमा बोलाए, त्यसपछिको माहोल भावुक बन्न पुग्यो ।

एकीकृत बस्ती शिलान्यास गर्नुअघि आयोजित कार्यक्रममा स्थानीयमाझ आफ्ना कुरा राख्न खोज्दा श्वेताको गला अवरुद्ध हुनपुग्यो । पटकपटक श्रीकृष्णको तस्बिर छोएर उनकै नाममा एकीकृत बस्ती उठाएर छाड्ने प्रतिबद्धता गरिरहँदा मञ्चमा रहेका सबैका आँखा रसाए ।