काठमाडौं, १७ जेठ । नेपाल मेडिकल काउन्सिलले दाङका शिव चौधरीको उपचारमा मेघा अस्पतालले गरेको लापरवाही तथा चर्को शुल्क असुलेको घटनाबारे छानबिन थालेको छ ।
स्वास्थ्यमन्त्री गगन थापाले मेघा अस्पतालको घटनाप्रति चासो देखाउँदै तत्काल छानबिन गर्न निर्देशन दिएपछि काउन्सिलले छानबिन सुरु गरेको हो । राँगाले हानी घाइते भएका चौधरीको ललितपुरस्थित मेघा अस्पतालमा ४१ दिनको भोगाइबारे उनका छोरा ऋषिको भनाइ अन्नपूर्ण पोस्ट्ले जस्ताको तस्तै प्रकाशन गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा.सतीश देवको नेतृत्वको टोलीले मंगलबार मेघा अस्पताल पुगी त्यहाँका कर्मचारीसँग स्पष्टीकरण लिएको थियो ।देव नेतृत्वको टोलीले चौधरीलाई भर्ना गरेदेखि डिस्चार्ज गर्दासम्मका सम्पूर्ण ‘रेकर्ड’ र खर्चबारे विवरण माग गरेको छ । तर, प्राविधिक कारणले मेघा अस्पतालले तत्कालै बुझाउन नसक्ने बताएपछि तीन दिनको समय दिएर टोली शिवको अवस्था बुझ्न राष्ट्रिय ट्रमा सेन्टर पुगेको थियो ।
डा.देवले छानबिन भइरहेकाले वास्तविकता बाहिर आउन केही समय लाग्ने बताउनुभयो ।मेघामा उपचार गराउँदा बेखर्ची तथा अवस्था झन् झन् बढी नाजुक बनेपछि उहाँ राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ ।शिवको स्वास्थ्य क्रमिक सुधारमा आएको छ । उपचारमा धेरै ढिलाइ भएकाले अपेक्षित सुधार नहुने चिकित्सकले बताएका छन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा.गौरवराज ढकालले शिवले समयमै आवश्यक उपचार नपाएकाले सोचेजस्तो परिणाम आउन कठिन हुने बताउनुभयो ।
‘उहाँको गर्धनको हड्डी भाँचिएको छ । यस्तो अवस्थामा २४ वा ७२ घन्टाभित्र शल्यक्रिया गरिसक्नुपर्छ । तर, उहाँ ६ सातापछि आउनुभयो’, डा.ढकालले भन्नुभयो, ‘उहाँले उपचारमा भएको सबै पैसा रित्याउनुभएछ । यहाँ निःशुल्क उपचार गरिरहेका छौं ।’
डा.ढकालका अनुसार शिवको अप्रेसनका लागि आवश्यक उपकरण जुटाउने प्रयास भइरहेको छ ।ट्रमामा चार दिन बस्नुभएका शिव सजिलै कुराकानी गर्न, हातखुट्टा चलाउन र खान सक्ने हुनुभएको छ । चिकित्सकका अनुसार शिवको भाँचिएको गर्धनको हड्डी जोडिन समय लाग्नेछ ।’मलाई यहाँ असाध्यै राम्रो छ, डाक्टर पनि धेरै असल हुनुहुँदो रहेछ, नर्र्सले पनि हेरचाह गरिरहनुभएको छ । बाँच्छु भन्ने आशा जागेको छ’, शिवले भन्नुभयो ।
शिवका अनुसार ट्रमा सेन्टरमा आएपछि पहिलेजस्तो तीन/चार थरीका औषधि खान परेको छैन । पटक–पटक एक्सरे र सिटीस्क्यान गरिएको छ । अप्रेसन गर्न तयारी भइरहेको छ । ‘दिनमा एकथरी औषधि मात्रै खान दिइएको छ । खाना पनि निःशुल्क उपलब्ध छ’, शिवले भन्नुभयो ।
सेन्टरमा भर्ना गर्दा सुरुमा तीन हजार रुपैयाँ जम्मा गरेको शिवका छोरा ऋषिले बताउनुभयो । मेघा अस्पतालमा ४१ दिनको उपचारका क्रममा चौधरीको दुई लाख २० हजार खर्च मात्र भएन, अवस्था झन् जटिल बन्दै गएपछि जबर्जस्ती रिफर गर्न लगाएर शिव ट्रमा सेन्टर भर्ना हुनुभएको हो । ‘उपचार खर्च तिर्न नसक्दा उपचार नै नहुने हो कि भन्ने डर थियो । यहाँ आएपछि बुबा फेरिनुभएको छ’, शिवका छोरा ऋषिले भन्नुभयो ।
वैशाख २ गते राँगाले हानेपछि शिवको ढाड र खुट्टामा चोट लागेको हो । शिवलाई भैरहवाको युनिभर्सल मेडिकल कलेज हुँदै एम्बुलेन्सबाट काठमाडौंको सिभिल अस्पताल ल्याइएको थियो । सिभिलबाट ट्रमा सेन्टर रिफर गरिएका शिवलाई एम्बुलेन्स चालकले ट्रमाभन्दा मेघा धेरै राम्रो र सस्तो भएको बताएपछि त्यतै लगिएको थियो ।












प्रतिक्रिया