३१ आश्विन २०८३, शनिबार

सिचाइमा नयाँ क्रान्ति, मन्त्री गिरीले भित्र्याए मुलुकमा नयाँ प्रविधि

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी

काठमाडौं, १६ जेठ । सिचाइमन्त्री दीपक गिरीले राष्ट्रिय गौरवका आयोजनमा थुप्रै समस्या रहेको भन्दै आफ्नो कार्यकालमा ती समस्याहरू समाधान गरेको बताएका छन् ।

सिचाइ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गिरीले भने, ‘राष्ट्रिय गौरवका विषयमा मैले धेरै सुनेको थिएँ । मन्त्री भएर आउनेवित्तिकै राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिन निर्देशन दिँए ।’ उनले भने, ‘कुरा बुझ्दै जाँदा राष्ट्रिय गौरवका आयोजनामा थुप्रै समस्या रहेछन् । मैले ती समस्या समधान गरेर आयोजनाहरूलाई अगाडि बढाएँ ।’

राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्याका विषयमा आफूले मन्त्रिपरिषद बैठकमा १५ मिनटसम्म धारणा राखेर प्रधानमन्त्रीलाई विश्वस्त बनाएको बताएका मन्त्री गिरीले भने, ‘सबै समस्यालाई मन्त्रिपरिषदबाट निर्णय गराएर मैले ती आयोजनाहरू सहज रुपमा लैजाने वातावरण बनाएँ ।’ मुलुकका लागि आवश्यक पर्ने योजनाहरू जसले ल्याए पनि त्यसलाई सहयोग गर्नुपर्ने आफ्नो मान्यता रहेको गिरीको भनाइ थियो ।

सिक्टा सिचाइ आयोजना, रानीजमरा कुलरिया सिचाइ आयोजना, बबई सिचाइ आयोजना र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरू सिचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना हुन् ।

ती आयोजनामध्ये भेरी–बबई डाइभर्सन आयोजनामा सिचाइ मन्त्रालयले नयाँ प्रविधि प्रयोग गरेको मन्त्री गिरीले बताए । उनले भने, ‘आयोजनाहरूमा पहिला–पहिला सुरुङ बनाउँदा कठिन प्रविधि अपनाइने गरिएको रहेछ । म आएपछि त्यसलाई विस्थापित गरेर चिनियाँ प्रविधि (टीबीएम) भित्र्याएर सुरुङ खन्ने व्यवस्था मिलाएँ ।’ यसरी सुरुङ खन्ने व्यवस्था नेपालमा पहिलो पटक सिचाइ मन्त्रालयले प्रयोगमा ल्याएको गिरीले बताए ।

रानीजमरा कुलरिया सिचाइ आयोजनामा सुकुम्वासीका नाममा स्थानीयले ठूलो अवरोध गरेको बताएका गिरीले भने, ‘त्यहाँको समस्या समाधान गरेर आयोजनालाई सहज रुपमा अगाडि बढाएँ ।’

मन्त्री गिरीले कोशी नदीमा हाइड्याम बनाउनुपर्ने योजना बनाएको बताउँदै भने, ‘छिमेकी मुलुकहरूसँग कुटनीतिक रुपमा परामर्श गरेर हाइड्याम बनाउनु पर्छ । यस विषयमा मैले पहल गर्नुपर्छ भनेको पनि छु । हाइड्याम बन्यो भने नेपाल र भारत दुबै देशका नागरिकलाई लाभ हुन्छ ।’

उनले हाइड्याम र ब्यारेज बनाउन नेपाली इञ्जिनियरहरू सक्षम रहेको उल्लेख गरे । गिरीले भने, ‘हामीपनि प्राविधिक रुपमा सक्षम छौँ । कर्मचारी र इञ्जिनियरहरूले विकास गर्ने विषयमा इमान्दार भएर काम गर्नुपर्छ ।’

पन्ध्र विघा जग्गा कब्जा

सुनसरी जिल्लाको चतरामा सिचाइ मन्त्रालयको १५ विघाग जग्गा धार्मिक गुरुले कब्जा गरेको खुलासा भएको छ । चतरामा रहेको आश्रमले मन्त्रालयको १५ विघा जग्गा कब्जा गरेर बसेको मन्त्री गिरीले जानकारी दिए । उनले भने, ‘सरकारी जग्गा संरक्षण गर्नुपर्छ । म पनि धार्मिक व्यक्ति हुँ । तर, धर्मका नाममा सरकारी जग्गा कब्जा गर्नु हुँदैन ।’

दाङमा ५३ हजार भूमि सिचाइ

मन्त्री गिरीले दाङ जिल्लाको ५३ हजार हेक्टर भूमिलाई सिचाइ गर्ने गरेर आफूले योजना बनाएको बताए । उनले भने, ‘दाङमा सधैँ सिचाइ गर्न मिल्ने गरेर ठूला आयोजनाहरू कार्यान्वयनमा अगाडि बढेको छ । ड्यामहरू बनाएर सिचाइको व्यवस्था मिलाउनु पर्छ ।’

दाङको बबई नदीमा दुई दर्जन स्थानमा बाँध निर्माण गरेर सिचाइको व्यवस्था मिलाएको उनले बताए । त्यसका लागि कुइरेपानीदेखि दाङ–सुर्खेत सिमानासम्म ठाउँ–ठाउँमा बाँधको व्यवस्था गरिएको उनको भनाइ थियो ।