९ मंसिर २०८३, बुधबार

कांग्रेस र राजपाबीच वार्ता, कुनै विषयमा कुरा मिलेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा शनिबार भएको वार्तामा स्थानीय तहको चुनाव सहभागी हुन कांग्रेसले राजपालाई आग्रह गरेको छ । राजपाले पटक पटक आस्वासन मात्रै पाएको भन्दै यथाअवस्थामा निर्वाचनमा भाग लिन नसक्ने बताएका थिए ।

नयाँ सरकार गठनको तयारी भइरहेका बेला कांग्रेसले राजपा नेपालका नेताहरूसँग परामर्श गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरागर्दै गृहमन्त्री एवम् कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान संशोधनका विषयमा एमाले तयार नरहेकाले चुनावपछि सो विषयलाई अगाडि बढाउने गरेर जान आफूहरूले आग्रह गरेको बताए । उनले मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनेदेखि चुनावमा सहभागी हुन राजपा नेपाललाई पर्ने प्राविधिक कठिनाइहरू फुकाउने विषयमा पनि कुराकानी भएको जानकारी दिए ।

राजपा नेपालका नेता राजेन्द्र महताले संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने, पार्टी दर्ता, मुद्दा फिर्ता लगायतका कुरा पूरा गरेर निर्वाचनको वातावरण बनाउन आग्रह गरिएको बताए । उनले वार्ता भए पनि कुनै विषयमा कुराकानी नमिलेको बताए ।

वार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायतका नेताहरूको सहभागिता रहेको थियो ।