९ मंसिर २०८३, बुधबार

देउवालाई प्रधानमन्त्री पदमा एमालेले टक्कर दिने, बालकोटबाट आयो निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएसँगै देशमा झन् अन्योल थपिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बुधबार साँझ बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवालाई टक्कर दिनेगरी उम्मेदवार खडा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

अब एमाले प्रधानमन्त्रीको दौडमा छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा सचिव भट्टराईले संसदीय अभ्यास गर्दै आएको पार्टी कुनै पनि संसदीय अभ्यासबाट पछि नहट्ने परि आए एमाले संसदीय प्रक्रियाअनुसार जान तयार रहेको स्पष्ट पारेका थिए ।

बैठकमा प्रधानमन्त्रीको राजीनामा र विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताउँदै सचिव भट्टराईले प्रधानमन्त्रीको राजीनामा उनको व्यक्तिगत, पार्टीगत र सत्ता गठबन्धन पार्टीभित्रको निर्णय भएकाले कुनै टिप्पणी नरहेको उल्लेख गरे ।

दोस्रो चरणको निर्वाचन पुरानै संरचना अनुसार हुनुपर्ने माग

स्थायी समिति बैठकले आगामी जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन पुरानै संरचनाअनुसार हुनुपर्नेमा जोड दिएको छ । बजेट तथा नीति कार्यक्रमबारे छलफल गर्नुपर्ने बेलामा स्थानीय तह थप्ने र सीमाङ्कन हेरफेर गर्ने सरकारको निर्णयले दोस्रो चरणको निर्वाचन नै ओझेलमा परेको ठहर गर्दै बैठकले दोस्रो चरणको चुनाव पुरानै संरचनाअनुसार हुनुपर्ने भनेको हो ।

निर्वाचनको सङ्घारमा प्रधानमन्त्रीको राजीनामाले झन् अन्योल थपेको बताउदै एमाले सचिव भट्टराईले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर असंवैधानिक र नियम कानुनको मर्म विपरीत रहेको बैठकले ठहर गरेको बताए ।

अहिलेलाई ७४४ संख्यामै स्थानीय तहको निर्वाचन हुनपर्ने र स्थानीय तह हेरफेर गर्नु पर्ने नै भए पाँच वर्षपछि गर्नुपर्ने एमालेको धारणा रहेको उनको भनाइ थियो । नयाँ संरचनाअनुसार निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले पनि निर्वाचन गर्न नसक्ने बताउँदै उनले सरकारले हालै गरेको सीमाङ्कन हेरफेर एमालेलाई अमान्य रहेको भट्टराईले बताए ।

बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, सचिव प्रदीप ज्ञवालीलगायत अधिकांश स्थायी कमिटी सदस्य सहभागी थिए ।