९ मंसिर २०८३, बुधबार

५० इन्सपेक्टरलाई आईजीपीले लगाइदिए फूली, डटेरै चुनौतीको ‘फेस’ गर्न निर्देशन

8.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार विभिन्न चरणको परीक्षा मार्फत छनौट भई नेपाल सरकार सचिवस्तरको २०७४ जेठ ७ गतेको निर्णय अनुसार प्रहरी निरीक्षक पदमा नियुक्त भएका ५० जना विभागीय प्रहरी निरीक्षकहरुलाई प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहबीच दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

साथै प्रहरी महानिरीक्षक अर्यालले राष्ट्रपतिबाट २०६७ जेठ १५ देखि २०७१ जेठ १५ गतेसम्म गणतन्त्र दिवसका दिन घोषित बिभूषणहरुमध्ये अलंकार तथा पदक प्राप्त गर्ने १२ जना प्रहरी अधिकृतहरुलाई सोही समारोहमा अलंकार तथा पदकद्वारा शुसोभन गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले संगठनको गरिमासँगै सेवामा रहँदा र अवकाशपछिको जीवनको प्रतिष्ठा पनि गाँसिएकोले के–कस्ता सुधार गरी प्रहरीभित्रको भातृत्वभाव विकाश गर्न सकिन्छ ? कुन तत्वहरुलाई परिमार्जन र परिष्कृत गरेर संगठनका सदस्यलाई वर्दीको गरिमा उचो बनाउन र समाजमा प्रहरी हुँ भनेर गर्वकासाथ हिंड्न सक्ने बनाउन सकिन्छ ? त्यसतर्फ सोच्न र क्रियाशील रहन आग्रह गर्नुभयो ।

बर्तमान अवस्थामा देखिएका समस्या तथा चुनौतीहरुलाई आत्मसात गर्दै संगठन उपर भइरहेका विविध दोषारोपणहरुलाई निरर्थक तुल्याउन नवनियुक्त प्रहरी निरीक्षकहरुलाई उत्कृष्ठ ढंगबाट कार्यसम्पादन गर्न दृढताकासाथ अघि बढन प्रहरी महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो ।

मुलुकले नयाँ संविधान प्राप्त गरिसकेको र राज्य पुनर्संरचनाको दिशामा अग्रसर रहेको अवस्थामा नेपाल प्रहरीले पनि संवैधानिक प्रावधान अनुरुप आफ्नो संरचना परिवर्तन गर्ने निश्चित रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले राज्य व्यवस्था र विद्यमान प्रणालीसँगै परिवर्तित हुन प्रहरी संगठनका हरेक सदस्यले आफ्नो सोच बदलिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले देशका बहुसंख्यक नागरिकको नजरमा प्रहरी नै राज्यको प्रथम प्रतिनिधि रहेको चर्चा गर्दै नागरिकको दुःख, पिरमर्का, समस्या, थिचोमिचोमा पर्दा सबैभन्दा पहिला पुकार्ने शब्द र सम्झिने निकाय प्रहरीको सेवा प्रवाहलाई अझै गुणस्तरीय र समयानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । जस्तोसुकै परिस्थितिमा पनि हाम्रा सहयोगी हातहरु यही समाजमा छन् भन्दै हाम्रा सेवा नागरिकको अपेक्षा अनुरुप छ कि छैन ? हामी उनीहरुप्रति उत्तरदायी छौं कि छैनौँ ? त्यसको आत्मबोध जरुरी भएको उहाँले बताउनुभयो ।

साथै विभिन्न अलंकार र पदकबाट विभुषित प्रहरी कर्मचारीहरुलाई बधाई दिँदै प्रहरी महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा थप अव्वलताका साथ अग्रसर हुन प्रेरणा मिलिरहोस् भन्ने कामना समेत गर्नुभयो । आफ्नो कर्मक्षेत्रको प्राथमिकता पहिचान गरेर पारदर्शी, जिम्मेवार र जवाफदेहीपूर्ण तवरबाट जिम्मेवारी निर्वाह गर्न उहाँले निर्देशन समेत दिनुभयो ।

समारोहमा प्रहरी नायव महानिरीक्षकहरु लगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्राविधिक जुनियर प्रहरी अधिकृत आधारभूत तालिम उदघाटन

यस्तै, भक्तपुरमा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा २६औं समूहको प्राविधिक जुनियर प्रहरी अधिकृत आधारभूत तालिम सुरु भएको छ । उक्त तालिम सोही शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक रणबहादुर चन्दको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहबीच उदघाटन गरिएको छ ।

उक्त अवसरमा तालिम संयोजक प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले तालिम सम्बन्धी जानकारी दिँदै तालिममा ११ जना पुरुष र ६३ जना महिला गरी कुल ७४ जना प्राविधिक प्रहरी नायव निरीक्षकहरुको सहभागिता रहेको बताउनुभयो ।

साथै उक्त तालिम उदघाटनपूर्व नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल उक्त शिक्षालय भई सहभागी प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।