काठमाडौं, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तहरूले संयुक्त रुपमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो भएको भेटवार्तामा जेठ ३१ गते हुन लागेको दोस्रो चरणको निर्वाचनसम्बन्धमा छलफल भएको हो ।
भेटघाटका अवसरमा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधी, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ तथा पूर्व रक्षामन्त्री रामबहादुर थापासमेतको उपस्थिति थियो ।
प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको भन्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पहरूको बारेमा सुझाव दिन आयोगसँग आग्रह गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं. १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी सम्पूर्ण निर्वाचन सामग्रीहरू जिल्लामा पु-याई सकिएको बताए ।
आगामी जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको भन्दै यादवले जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको उल्लेख गरेका थिए ।











प्रतिक्रिया