काठमाडौं, २३ फागुन । काठमाडौंस्थित आश्ना कार्गो एण्ड कुरियर प्राइभेट लिमिटेडका सञ्चालाक सन्दीप खनालसँग अपरिचित समूहले मोटो रकम चन्दा मागेर धम्क्याएको खुलासा भएको छ ।
शनिबार अपरान्ह तीन बजे मुखमा कालोपट्टि बाँधेर आएका ४–५ जनाको समूहले खनालसँग मोटो रकम चन्दा माग गरेका हुन् । पीडितका अनुसार मुखमा कालोपट्टि बाँधेर आएको समूहले आफूहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता हौँ भन्दै चन्दा रकम माग गरेका थिए ।
कार्यालयमा आफ्ना कर्मचारीहरूसँग कार्यरत खनालसँग एक्कासि सो समूहले चन्दा माग गरेर ज्यानमार्ने धम्की दिएपछि उनी अत्तिएका थिए । सो समूहले पटक–पटक खनालसँग चन्दा रकम माग गर्नुका साथै मानसिक दवाव सृजना गरेको परिवारजनको भनाइ छ ।
घरेलु हतियारसहित आएको सो समूहले खनाललाई आफूहरूसँगै अपहरण गरेर लैजाने धम्कीसमेत दिएको स्रोतको भनाइ छ ।
कार्गोको कार्यालयमा कार्यरत कर्मचारीहरूका अनुसार खानालको कार्गोको कार्यालयमा अपरिचित समूहले हतियार देखाएर कुटपिट, अपहरणको धम्कीका साथै ज्यानमार्नेसम्मको चेतावनी दिएका थिए । प्रहरीले घटनामा संलग्नहरूको खोजी भइरहेको उल्लेख गरेको छ ।
सो अपरिचित समूह आफ्नो कार्यालयबाट गएपछि खनालले तत्काल घटनाका विषयमा प्रहरी समक्ष जानकारी गराएका थिए ।
आफ्ना अराजनीतिक र गैरकानूनी क्रियाकलापलाई तीब्र बनाएको ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा चन्दा, अपहरण र जवरजस्तीका घटनालाई तीव्र बनाउँदै लगेकोमा सुरक्षा निकायलाई टाउको दुखाई बनेको छ ।












प्रतिक्रिया