२१ कार्तिक २०८३, शनिबार

गाउँपालिकाको वडा कार्यालय लथालिङ, सचिव आउँदैन कार्यालय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १० जेठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर १ का सचिव कार्यालय नआउँदा स्थानीय जनता समस्या झेल्न बाध्य छन् । सचिव रामप्रसाद मण्डल नियमित कार्यालय आउने गरेका छैन् । नियमित कार्यालय नआएपनि रजिष्टरमा भने उहाँको हाजिरी दैनिक बनेको देखिन्छ ।

सामाजिक परिचालक सतिस यादब भन्नहुन्छ– ‘सचिव नियमित नआउँद कामकाज प्रभावित बनेको छ । उहाँ महिनामा ३/४ दिन मात्र आउनुहुन्छ । तर एकै दिन बसेर महिनाभरको हाजिरी गर्नुहुन्छ ।’

कार्यालयमा सचिव नियमित नआउँदा जन्मदर्ता, मृत्यू दर्ता लगायतका साना कामहरु गराउन पनि जनता हप्ता धाउनुपर्छ । विकासका काम समेत प्रभावित बनेको छ । सामाजिक सुरक्षा भत्ता लिन पनि सास्ती खेप्नुपरिरहेको स्थानीयको गुनासो छ । कार्यालय नियमित नआउनेबारे बुझ्न सचिव मण्डललाई पटक पटक सम्पर्क गरेपनि सम्पर्कमा आएन् ।

कार्यालय लथालिङ

सचिव मण्डल नियमित नआउँदा कार्यालय लथालिङ बनेको छ । माओवादी द्धन्द्धकालमा कार्यालयको भित्तामा लेखिएका नाराहरु अझै मेट्न सकेका छैन् । कार्यालयको भित्तामा ज्ञानेन्द्र सरकार मुर्दावाद, नेकपा माओवादी जिन्दावाद जस्ता नाराहरु अझै छदैछ । यस्ता नाराहरु भित्तामा लेखिएका कारण यो नेपाल सरकारको वडा कार्यालय हो जस्तो लाग्दैन् । कार्यालयमा अझै नवराजपुर गाउँपालिकाको वडा कार्यालयको वोर्ड झुण्ड्याका छैन् । कार्यालयबाट प्रदान गरिने सेवा सुविधाका लागि अनिवार्य राख्नुपर्ने नागरिक वडापत्र समेत छैन् ।

कार्यालयमा न शौचालय छ, न त ट्यूवेल

साविकको भगवतिपुर तामासुइया गाविस कार्यालयमा संचालित वडा कार्यालयमा हालसम्म शौचालय बनेका छैन् । स्थानीयका अनुसार गाविस हुँदा नै पटक पटक शौचालयका लागि बजेट निकासा गरेपनि शौचालय अझै निर्माण गरेका छैन् । भगवतीपुर तामासुइया हुँदा खुल्ला दिशामुक्त गाविस अभियान नै चलायो । कार्यालयमा पनि एक घर एक चर्पी सिरहाको शान, पूर्ण सरसफाई युक्त जिल्ला हाम्रो पहिचान नारा लेखिएको व्यानर झुण्ड्याएको छ । तर कार्यालयमै शौचालय छैन् । खानेपानीका लागि ट्यूवेल सम्म जडान भएको छैन् । एउटा ट्यूवेल रहेपनि बिग्रेको अवस्थामा छ । जसले गर्दा कार्यालय आउने जनता र त्यहाँ कार्यरत कर्मचारी पनि समस्या झेलिरहेका छन् ।