काठमाडौँ, २५ असोज । गोमा एयरले पश्चिमाञ्चलको जोमसोम र पूर्वाञ्चलको लुक्लामा समेत अब छिट्टै उडान सेवा सुरु गर्ने भएको छ ।
त्यसका लागि गोमा एयर प्राइभेट लिमिटेडले १९ सिट क्षमताको अत्याधुनिक र गुणस्तरीय एलइटी ४१०युभिपी–इ२० नयाँ जहाज ल्याइसकेको छ । गोमा एयरको नेपाली आकासमा उड्ने यो तेस्रो विमान हो ।
यसअघि चार वर्षदेखि उक्त एयरलाइन्सका नौ/नौ सिट क्षमता भएका दुइ वटा विमानले जुम्ला, सिमिकोट, बाजुरा, डोल्पा र रारालाई हवाई उडानमार्फत मध्यपश्चिमाञ्चलको नेपालगन्ज र सुर्खेतसग जोड्दै आइरहेका छन् ।
नेपालको आन्तरिक हवाई सेवामा छोटो अवधिमै नेपालका पश्चिमका हिमाली तथा पहाडी जिल्लामा लोकप्रियता हासिल गरेपछि गोमा एयरले सेवा विस्तार गर्ने क्रमलाई तीव्रता प्रदान गरेको प्रबन्ध निर्देशक मनोज कार्कीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
नागरिक उड्डयनका केही बाँकी प्रक्रिया पूरा गरेर अब केही दिनमै लुक्ला र जोमसोममा सेवा सुरु गर्न लागेको उहाँले बताउनुभयो ।
छोटो धावनमार्गमा समेत सजिलै अवतरण गर्न सक्ने उक्त विमान नेपाललगायत दक्षिण एशियाली मुलुकको हवाई सेवाका क्षेत्रमा अब्बल सावित हुने कम्पनीले विश्वास लिएको छ ।
यो जहाजलाई आगामी पुस महिनामा भुटानमा समेत लगिने भएको कम्पनीले जनाएको छ ।
युरोपेली युनियनको सहमतिसहित चेक एक्सपोर्ट बैंकको नेपालमा गोमा एयर सञ्चालनका लागि योगदान रहेको प्रबन्धक कार्कीले बताउनुभयो ।













प्रतिक्रिया