२९ आश्विन २०८३, बिहिबार

यमनमा हैजाको प्रकोपबाट एक सय पन्ध्रको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साना (यमन), १ जेठ । द्वन्द्वग्रस्त खाडी मुलुक यमनमा फैलिएको हैजाका कारण मृत्यु हुनेको सङ्ख्या ११५ जना पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले आइतबार जनाएको छ ।

हैजाको प्रकोपबाट आठ हजार ५०० जना बिरामी परेका र उनीहरुको उपचारका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्घसंस्थाहरु यमन पुगेका छन् ।

हामीले अहिले हैजाको गम्भीर समस्याका रोगीहरुको उपचारमा सहयोग गरिरहेका छौँ, आइसीआरसीका कार्यक्रम सञ्चालक डोमिनिक स्टिलहार्टले बताउनुभयो ।

यमनको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्टिलहार्टले अप्रिल २७ देखि शनिबारसम्म ११५ जनाको मृत्यु भएको बताउनुभयो ।

मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले यमनमा हैजाका कारण ३४ जनाको मृत्यु भएको जनाएको थियो।

यमनमा यो वर्ष हैजा तथा दूषित पानीका कारण फैलिने रोगको सङ्क्रमणका कारण नागरिक ठूलो सङ्ख्यामा प्रभावित बनेको दोस्रो घटना हो ।

यमनमा भएका द्वन्द्वका क्रममा अस्पताल तथा स्वास्थ्य केन्द्रसमेत विस्थापित बनेपछि लाखौँ मानिसले आफ्नो स्वास्थ्य समस्यालाई भाग्यको जिम्मा लगाउन बाध्य छन् । लामो द्वन्द्वले खानेपानी आपूर्ति तथा मुहानहरू दूषित बनेका कारण सफा खानेपानीका लागि सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको छ । विश्व खाद्य सङ्गठनका अनुसार यहाँका करिब एक करोड ७० लाख मानिसले आधारभूत खाद्यन्नको अभावमा बाँच्नु परेको छ ।

यमनमा सन् २०१५ यता सुरु भएको द्वन्द्वका कारण करिब सात हजार मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी विस्थापित बनेका छन् । –एएफपी