चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बढ्दो रोग, कच्चा पदार्थको मूल्यमा वृद्धि र अत्यधिक गर्मीका कारण उत्पादनमा कमी आएपछि व्यवसायीले अण्डाको मूल्य बढाएका हुन् ।
खुद्रा अण्डाको मूल्य प्रतिवटा रु १४ पुगेको छ । व्यवसायीले फार्मबाट प्रतिक्रेट रु ३२० मा बिक्री गर्न थालेका छन् ।
अण्डा उत्पादक संघका महासचिव त्रिलोचन कँडेलका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो वर्ष बर्डफ्लु देखापरेपछि ठूलो नोक्सानी व्यहोरेका कतिपय व्यवसायीहरूले पेसा छाड्नु, कतिपयले उत्पादन घटाउनु, कच्चा पदार्थको मूल्यमा भारी वृद्धि हुनुलगायतका कारण उत्पादनमा समेत आधा कटौती भएको छ ।
महासचिव कँडेलका अनुसार दैनिक १४ हजार पेटी उत्पादन हुँदै आएको अण्डा घटेर अहिले सात हजार पेटीमा झरेको छ ।
अण्डाको माग नै १४ हजार पेटीभन्दा बढिरहेको भए पनि पु¥याउन नसकेको सङ्घका अध्यक्ष शिवराम केसीले बताउनुभयो ।
अहिले कुखुरामा रानीखेत, कक्सी, सिआरडी, एच ९ जस्ता रोग देखापरेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले बताउनुभयो । जसका कारण उत्पादनमा कमी आएको छ ।
हालको मूल्यले पनि खर्च नधान्ने अध्यक्ष केसीले बताउनुभयो । कच्चा पदार्थको मूल्य बढी र रोग एवम् चर्काे गर्मीका कारण उत्पादनमा कमी आएपछि बाध्य भएर मूल्य बढाउनुपरेको उहाँले बताउनुभयो ।
गत वर्ष चैतमा चितवनमा बर्डफ्लु देखापरेपछि यहाँका व्यवसायीले करोडौँको नोक्सानी व्यहोर्नु परेको थियो । यस वर्ष रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको पशुसेवा कार्यालयका प्रमुख डा कार्कीले बताउनुभयो ।














प्रतिक्रिया