बागलुङ, २१ असोज । बागलुङ जिल्लाको भकुण्डे–२ का युवा मनोज थापासँग कुनै समय कमाउन विदेशबाहेक अर्को विकल्प थिएन । तर, समय बित्दै जाँदा उहाँको सोचमा आएको परिवर्तनले अहिले गाउँमै उद्यमी बन्न सफल हुनुभएको छ ।
विदेश जाने सपना एकाएक त्यागेर व्यावसायिक कृषिलाई अँगाल्नुभएका थापाले मनग्य कमाई गर्न थाल्नुभएको छ ।
थापाले एक्लो प्रयासमा पाँच वर्षअघिदेखि कुखुरापालन, सुँगुरपालन र तरकारीखेती सुरु गर्नुभएको हो । हालसम्म रु सात लाखभन्दा बढी लगानी भएको थापाले बताउनुभयो । “म सम्पूर्ण रूपमा सन्तुष्ट छु, आफ्नो कर्ममा खुसी छु”, थापाले भन्नुभयो, “विदेशमा जति कमाउने पैसा मैले घरमै बसेर कमाउन सफल भएको छु, साथीहरूलाई पनि विदेश नजान म सुझाव दिन चाहन्छु ।”
थापाको अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी आम्दानी छ । जसबाट वर्षमै रु पाँच लाख जति कमाई हुने गरेको छ । उहाँको कुखुरा फार्ममा अहिले ब्रोइलर, कोइलर र स्थानीय गेरर करिब एक हजार २०० जति कुखुरा रहेका छन् ।
त्यस्तै स्थानीय जातका सुँगुर छवटा छन् । एउटा सुँगुरले १० देखि माथि छाउरा जन्माउने गरेको छ । सुँगुुरको मासु रु ३०० केजीमा बिक्री हुने गरेको र जिउँदो दाना खान सक्ने बेलाको सुँगुरको मूल्य रु दुई हजारदेखि माथि पर्ने गरेको थापाले जानकारी दिनुभयो ।
सुँगुरको छाउरा र मासु गाउँमै खपत हुने गरेको उहाँको भनाइ छ । त्यस्तै ब्रोइलर जिउँदो प्रतिकेजी रु २५०, कोइलर रु ४०० र स्थानीय जातको रु ५०० मा बिक्री हुने गरेको थापाले बताउनुभयो ।
त्यस्तै करिब पाँच रोपनी क्षेत्रफलमा आलुखेती पनि गर्नुभएको छ । वार्षिक ५० देखि ७० मुरीसम्म आलु फल्ने गरेको उहाँको भनाइ छ । आलु पाथीको रु १२० सम्ममा बिक्री हुने गरेको छ । आलुका साथै अन्य तरकारीजन्य उत्पादनहरू केही गाउँमा त बाँकी बागलुङ सदरमुकाममा खपत हुने गरेको छ ।
उहाँले साना किसान सहकारी संस्थाबाट रु दुई लाख र सिवाइसी बचत तथा ऋण सहकारीबाट रु एक लाख ऋण लिएर व्यवसाय विस्तार गर्नुभएको हो ।
त्यसबाहेक सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङ र लिवर्ड परियोजनाले पनि थापालाई विभिन्न तवरले सहयोग पुराइरहेको छ ।
तीन छोरीका पितासमेत रहनुभएका थापालाई श्रीमती पार्वती र उहाँकी जेठी छोरी समीक्षाले पनि काममा सघाइरहनुभएको छ ।













प्रतिक्रिया