२९ आश्विन २०८३, बिहिबार

युवा विदेशतिर, स्वदेशका व्यवसाय भारतीय श्रमिकको भर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २० असोज । देशबाट धमाधम युवाहरु विदेशहरु पलायन भइरहँदा कञ्चनपुरमा सञ्चालित इँटा उद्योगमा भने स्थानीय कामदारको अभाव भएको छ । भारतीय श्रमिकको भरमा व्यवसाय सञ्चालन हुँदा बर्सेनि साढे ११ करोड विदेसिने गरेको छ ।

जिल्लाको विभिन्न ठाउँमा सञ्चालनमा रहेका ३२ वटा उद्योगबाट भारतीय कामदारसँगै बर्सेनि ११ करोड २० लाख भारत जाने गरेको छ । स्थानीयस्तरमा उद्योगलाई आवश्यक पर्ने श्रमिक नपाइएपछि पुँजी पलायनको अवस्था आएको हो । उद्योगमा सहजै गर्न सकिने कामका लागिसमेत स्थानीय श्रमिकले काम गर्न नचाहेपछि उद्योगले कामदार अभावको मार खेप्नुपरेको हो ।

एक मौसम (मङ्सिरदेखि जेठसम्म) मा एक उद्योगले ५० लाख इँटा उत्पादन गर्छ । प्रतिइँटा सात रुपैयाँका दरले प्रतिउद्योगबाट ३५ लाख भारतबाट आउने कामदारले लैजाने गरेको आकास इँटा उद्योग पुनर्वासका सञ्चालक फैरु तामाङले बताउनुभयो ।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता ठान्ने मुलुकका युवा स्वदेशमा काम गर्न नचाहेपछि यहाँका उद्योग व्यवसाय विदेशी कामदारमा आश्रित बन्न बाध्य रहेको सन्देश इँटा उद्योगका सञ्चालक वीरबल विश्वकर्माले बताउनुभयो ।

कञ्चनपुरमा फस्टाउँदै गएको इँटा उद्योगमा भइरहेको स्थानीय कामदार अभाव पूर्तिका लागि बेरोजगार युवालाई सीपमूलक तालिमको निरन्तर सञ्चालन गर्न आवश्यक रहेको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष गणेशदत्त जोशीले बताउनुभयो ।

पटकपटक जिल्लास्थित सरकारी सम्बन्धित निकाय र केन्द्रीयस्तरमा समेत माग राख्दा पनि कहीँकतैबाट पहल हुन नसकेकाले हाम्रो उद्योग व्यवसाय मारमा परेका छन् ।

यो स्थितिको अन्त्य गर्न सरकारले सीपमूलक कार्यक्रम ल्याई उद्योगको कामदारको समस्याको हल गर्नुपर्ने अध्यक्ष जोशीको भनाइ रहेको छ ।

अर्कोतर्फ स्थानीय कामदारको अभावमा स्वदेशी पुँजी विदेश पलायन हुँदा जिल्लामा आर्थिक सङ्कट आउने उहाँको भनाइ रहेको छ ।

गत वर्ष कैलालीमा हेल्बिटास नामक गैरसरकारी संस्थाले मुक्त कमैयालाई इँटा बनाउने तालिम सञ्चालन गरी स्थानीयस्तरमा कामदार र रोजगारी सिर्जना गर्ने कार्यक्रम सुरु गरी आंशिकरुपमा यसले सहयोग गरेको थियो ।

यस प्रकारको कार्यक्रम कञ्चनपुरमा सञ्चालन भए उद्योगले राहत पाउने अध्यक्ष जोशीको भनाइ रहेको छ ।

यहाँका उद्योगलाई आवश्यक कामदार स्थानीयस्तरमा उत्पादन गर्न सरकार र सम्बन्धित निकायले पहल गर्न सके रोजगारीका लागि अन्यत्र जाने स्थिति रोकेर पुँजी पलायन रोक्न सकिने भवानी इँटा उद्योगका सञ्चालक यामबहादुर तामाङले बताउनुभयो ।

उत्पादनको ठूलो हिस्सा ओगटेको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास र बेलौरीमा २० वटा उद्योग सञ्चालनमा रहेका छन् । १२ वटा उद्योग महेन्द्रनगर आसपासमा रहेका छन् ।

जिल्लाभरि नै स्थानीय कामदार नपाइएपछि भारतीय श्रमिकको भर पर्नुपर्ने हाम्रो बाध्यता रहेको महाकाली इँटा टायल व्यवसायी सङ्घका अध्यक्ष बलदेवसिंह बुढाले बताउनुभयो ।

कामदारको अभाव खेपेका यहाँका इँटा उद्योगमा स्थानीय श्रमिक उत्पादनमा सरकारले सीपमूलक कार्यक्रम ल्याई रोजगारी र पुँजी पलायनको स्थितिबाट सिर्जना हुने समस्या हल गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने नमुना इँटा उद्योगका सञ्चालक लालीश्वर अर्यालले बताउनुभयो ।

स्थानीय कामदारको अभावसँगै भारतीय कामदार काम सकेर घर जाँदा अग्रिम पेस्की दिई पठाउँदा रकम डुब्न सक्ने जोखिमसमेत मोल्नुपरेको उहाँले बताउनुभयो ।