
काठमाडौं, वैशाख ९ गते । राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा तेस्रो दिनसम्म ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले प्रदर्शनीमार्ग्स्थित भृकुटीमण्डप परिसरमा संयुक्त रूपमा आयोजना गरेको मेलामा तीन दिनमा साढे तीन करोड रूपियाँको कारोबार भएको छ । जसअनुसार विहीबार ४० लाख, शुक्रबार ७० लाख र शनिबार दुई करोड ४० लाख रूपियाँको कारोबार भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष गिरीले मौसमले वर्षाको प्रवाह नगरी अवलोकनकर्ताहरु उत्साहपूर्वक मेला अवलोकन गर्न आइरहेको बताउनुभयो । मेलामा लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइएको छ ।
प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् । केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्व्द्धित १० जना महिला उद्यमीहरु रहेका छन् ।

त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।
यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र एक लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । मेला सोमबारसम्म चल्ने छ ।















प्रतिक्रिया