– सुदिप निउरे
क्वालालम्पुर, ७ वैशाख । मलेसियामा मृत्युदण्ड माग गरिएका सिन्धुपाल्चोकका लालबहादुर तामाङ निर्दोष साबित भएका छन् । मलेसियाली नागरिकको हत्या आरोप लागेका सिन्धुपाल्चोक किमे ९ गुन्थागंका तामाङले १७ महिनापछि सफाई पाएका हुन् ।
अशोक लामा नामले चिनिने लालबहादुरलाई मलेसियास्थित नेपाली राजदूतावासको पहलमा बुधबार नै घर फर्काइएको छ । सुरक्षा गार्डको काम गर्ने तामाङमाथि भारतीय मुलका एक मलेसियन नागरिक मुथुभेलु अन्नालक्की गोबिन्दनको हत्या गरेको आरोप लागेको थियो ।
मृतक परिवारले मलेसियाको पेनल कोटमा मुद्धा दायर गरि तामाङलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गर्दै आएका थिए । नेपाली राजदूतावासको कानुनी परामर्श दातृ खरेनजित कौरमार्फत हेड अफ दि स्टेट पब्लिक प्रोसेक्टरमा तामाङमाथिको मुद्धा झुठो भएको माग दाबी गरिएको थियो ।
उच्च अदालत शाहलममा गएको मार्च ८ मा तामाङको मुद्धामा गरिएको बहसपछि उनी निर्दोष साबित भई घर फर्किन सफल भएको मलेसियास्थित नेपाली राजदूत निरंजनमानसिंह बस्न्यातले जानकारी दिए ।
१८ नेपालीलाई पनि घर फर्काइयो
यस्तै, मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीलाई एकैसाथ घर फर्काएको छ । नेपाल सरकारबाट उपलब्ध बजेटबाट हवाई टिकट खरिद गरि उनीहरुलाई पठाईएको यहांस्थित राजदूतावासले जनाएको छ ।
केहि दिन अघिमात्रै बुकिट जलिल क्याम्पबाट नै अत्यन्तै जटिल अबस्थामा रहेका देउराली ६ नुवाकोटका बिफ लामासंगै हरिहरपुर–१ सिन्धुलीका लिला भोलन सोही क्याम्पमा रहेका अन्नपुर्ण–६ भोजपुरका जयकुमार खवासलाई राजदुतावासले उद्धार गरि घर फर्काएको हो ।
यस्तै केडाह घरफिर्ती केन्द्रबाट देबिगंज ८ झापाका पदम बहादुर तामाङ, बोधे ३ धनकुटाका धिरेन्द्र याख्या र ढोरफिर्दि ७ तनहुका कमल भुजेललाई पनि उद्धार गरि घर फकाईएको यहांस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घरफिर्ती केन्द्रमा रहेकालाई नेपाल फर्काउने कार्य निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ ।
















प्रतिक्रिया