सिकागो । अमेरिकामा रहेका नेपालीले धुमधामका साथ नयाँ वर्ष मनाएका छन् ।
विक्रम सम्वत् २०७४ को उपलक्ष्यमा सिकागोमा रहेका नेपालीहरुको साझा संस्था सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटीको आयोजनामा साङ्गितिक मनोरञ्जनात्मक कार्यक्रमसँगै पत्रिका विमोचन समेत गरेर नेपालीहरुले खुसी साथ नयाँ वर्ष मनाएका हुन् ।
सांगितिक कार्यक्रममा नर्थ क्यारोलोनाका लोकप्रिय गायक अशोक अर्याल, भुट्निज कम्युनिटिका नारायण गज्मेरसहित स्थानीय ३१ जना कलाकारले नृत्य र गायनद्वारा करिब ५०० को संख्यामा उपस्थित रहेका सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सिकागोकै लोकप्रिय ब्यान्ड अन्डिसाइडेडको धमेकेदार प्रस्तुतिमा नाचेर सहभागिहरु असिनपसिन देखिन्थे ।
सांगितिक कार्यक्रममा सहभागी नेपालीहरुले एक अर्कामा नयाँ वर्षको शुभकामना अदानप्रदान तथा आत्मीयता साटासाट समेत गरेका थिए ।
पत्रिका विमोचन
यसैगरि संस्थाले नयाँ बर्षबाट वितरण गर्ने गरि नेपाली (अंग्रेजी भाषामा समेत) भाषाको मुख पत्र अर्ध बार्षिक बुलेटिन ‘सिएनएफएस दर्पण’ बिमोचन गरि वितरण गरेको छ । बाणिज्य दूत मार्भिन बोस्टिन र पर्यटन दूत बाला घिमिरेद्वारा संयुक्त रुपमा बिमोचन गरिएको कार्यक्रम भब्यताको साथ सम्पन्न भएको थियो । विभिन्न समसामयिक र आप्रवासीहरुको सरोकारको विषयमा ४१ जना सर्जकहरुद्वारा लेखेको बुलेटिनको प्रधान सम्पादकमा सिएनएफएसका प्रेसिडेन्ट टेकराज पौडेल रहेका छन् भने सम्पादक मन्डलमा सुरज घिमिरे, जितेन्द्र राणा र सरगम भट्टराई रहेका छन् । बुलेटिन हरेक ६–६ महिनामा अर्ध बार्षिक रुपमा प्रकाशन गरिने भएको छ ।
नयाँ वर्षको अवसरमा आयोजित दुबै कार्यक्रम भब्यताका साथ सम्पन्न भएको भन्दै संस्थाका प्रेसिडेन्ट टेकराज पौडेलले सहभागी लगायत सम्पन्न गर्न खट्ने सबै पक्षलाई धन्यवाद दिएका छन्
किन मनाइन्छ नयाँ वर्ष ?
नयाँ बर्षलाई बिदेशमा बस्ने नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । बिदेशमा नेपालीहरुको बाक्लो बसोबास हुने शहरहरुमा नयाँ बर्षलाई पर्वकै रुपमा मान्ने गर्दछन । यथेष्ट मनोरञ्जनका लागि गीत सङ्गितको मजा लिएर धुमधामका साथ नयाँ बर्षको शुभकामना लिने दिने गर्ने चलन अमेरिका लगायत बिदेशमा दिनानुदिन बढ्दो छ । नेपालमै नयाँ बर्षको त्यति ठूलो क्रेज छैन् तथापी सरकारी तवरबाट १ दिने बिदा दिने बाहेक राज्य स्तरमै यो दिनलाइ एतिहासिक दिन वा पर्व मानेर मनाउने कुनै परम्परा छैन् ।
बिक्रमादित्य राजाभन्दा ९०० बर्ष पहिलेदेखि प्रारम्भ भएको र चन्द्रगुप्तको शासन कालदेखि बिक्रम सम्बत् नामाकरण गरिएको पाइन्छ । बिक्रम सम्बत् नेपालमा राणाशासनदेखि आधिकारिक प्रचलनमा छ । त्यसभन्दा पहिले शाक्य सम्बत प्रचलनमा थियो । चन्द्रमाको अधेरी र उजेली पक्षबाट प्रभावित गणना तथा अधिक मासस्बाट समयको निर्धारण गरिएको छ ।
विश्वब्यापी इस्वी सम्बतलाई एकीकृत रूपमा मान्ने र संसारभर एउटामात्र आधार मानेर जाँदा काम गराइमा एकरुपता कायम हुने बलियो तर्क र आधार हुँदाहुँदै पनि अरुले बाइक चढे भनेर हामी धुरीमाथि किन चढ्ने भन्ने हाम्रो नेपाली उखान चरितार्थ गर्दै हाम्रो नयाँ बर्ष मान्ने प्रवासिएका नेपालीहरुको आफ्नै रहर छ ।
अमेरिका आप्रबासीहरुको बाहुल्य भएको मुलुक हो । यहाँ बस्ने बहुसंख्यक आप्रबाशीहरुले आफू जन्मेको मुलुकको संस्कृति परम्परा रितिरिवाज धुमधामका साथ मनाउने गर्दछन् ।
आआफ्ना भाषा सस्कृति संरक्षण गर्न पाउने गरि कानुन मै अधिकार सुरक्षित गरिदिएको हुन्छ । छिमेकी मुलुकहरू भारत पाकिस्तान लगायतका मानिसहरुले आआफ्ना भाषा संस्कृतिको क्षेत्रमा काम गरेको देखेका नेपालीहरु पनि आफ्ना विशेष पर्वहरुमा जमेर मनाउने र आफ्नो मुलुकको बहुभाषिक पहिचान प्राप्त गर्नमा उद्यत छन् ।
















प्रतिक्रिया